खेलकुद

एनपिएल: दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई

नवलपुर टुडे
२०८२ मंसिर २७ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एकतर्फी फाइनल भिडन्तमा लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले ट्रफी उचालेको हो।

सुदूरपश्चिमले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै लुम्बिनीले ६६ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्दै सानदार शैलीमा उपाधिमाथि कब्जा जमायो। लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई पावरप्लेमै जितको आधार तय गरिदिएका थिए।

अधिकारीले मात्र १३ बलमा ५ छक्का र १ चौकाको मद्दतले ४२ रनको योगदान दिए। उनले इनिङको पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका थिए। अर्का ओपनर डार्सी सर्टले १४ रन बनाए। टोलीलाई जितसम्म डोर्याउन कप्तान रोहित पौडेलले अविजित १६ रन र निरोशन डिकवेलाले अविजित ११ रन बनाए।

सुदूरपश्चिमका बलर हेमन्त धामीले २ विकेट लिए भने अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।

कमेन्टहरु