देश

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

रासस
२०८२ मंसिर २७ | मध्यान्ह १२:०८ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ ।काठमाडौँ–२६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युटर हस्तान्तरण गरेको हो । कम्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका साथै समय अनुकूलको प्रविधिमैत्री शिक्षालाई जोड दिन ४२ थान कम्युटर प्रदान गरिएको जानकारी दिए ।

“विद्यालयमा शैक्षिक सामग्री मात्र भएर हुँदैन यसलाई भरपुर प्रयोग गर्नुपर्छ, यी दुई विद्यालयलाई महानगरको मात्र नभई देशकै नमूना विद्यालय निर्माण गर्न वडाले सहयोग गर्छ”, उनले भने। सरकारी विद्यालय धेरै राम्रो छ भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाइ थियो ।

 

शान्ति विद्या गृह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कामपा–२६ का पूर्ववडाध्यक्ष वर्षाराम भण्डारीले इतिहास बोकेको विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए । शान्ति विद्या गृह माविका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारले गरेको प्रयासप्रति आभार प्रकट गर्दे राम्रो नतिजा दिने गरी विद्यालयले अध्यापन गराउने बताए ।

 

विसं २००४ मा स्थापना भएको शान्ति विद्या गृहमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत छन् भने लोकहित आधारभूत विद्यालयमा १०६ विद्यार्थी अध्ययनरत छन् । काठमाडौँ–२६ ले गत भदौ ११ गते स्टार अफिस इन्टरनेशनलसँग सम्झौता गरी रु २७ लाख ७६ हजार २०० लागतमा दुई विद्यालयमा कम्युटर ल्याब स्थापना गरेको कामपा–२६ का वडा सचिव केदार रिमालले जानकारी दिए । कम्युटर प्रदान कार्यक्रममा वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ र रुपा विकको सहभागिता रहेको थियो ।

कमेन्टहरु