एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण


म्याग्दी, मंसिर २६ । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।
हालसम्म रु १९ लाख ९३ हजार ७९५ खर्च, रु १७ लाख ६९ हजार ९७४ आम्दानी र रु दुई लाख २३ हजार ८२१ भुक्तानी दिन बाँकी रहेको निर्माण समितिका किशोर श्रेष्ठले बताउनुभयो । मन्दिरको वरपर राखिएको बत्ती बाल्ने दियोको खर्च जोड्दा कूल रु २० लाख २५ हजार पुग्ने उहाँले बताउनुभयो ।
बेनीका स्व मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाउनुभएको थियो । मन्दिर जीर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरेर पुनर्निर्माण गरिएको हो ।
मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरुको योगदान बढी छ । प्रत्येक दिन नित्य पूजा हुने गणेश मन्दिरमा गणेशचौथी र मङ्गलचौथी तिथिमा विशेष पूजाआजा हुने गर्छ । पुनर्निर्माण सकिएपछि यसै हप्ता हिन्दू धर्मावलम्बीहरुको भगवान् गणेशको मूर्तिको प्राण प्रतिष्ठा गरेर नियमित पूजाआजा सुरु गरिएको छ ।
यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बेनी बजारमा हरेक वर्षको घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म देखाइने बर्खे नाचको समापन यही गणेश मन्दिर परिसरमा गरिन्छ । गणेश मन्दिर बेनी बजारको पुरानो धार्मिकस्थल हो । बेनी भ्रमणमा आउने पाहुना र पर्यटकका लागि गणेश मन्दिर र नजिकैको बेनीकोत आकर्षण हो ।























