सर्लाहीमा संगठन सुदृढीकरणका लागि सरोज कुमारलाई जिम्मेवारी


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सर्लाही जिल्लामा संगठनात्मक नेतृत्व पुनः व्यवस्थित गर्दै सरोज कुमारलाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी प्रदान गरेको छ।
कांग्रेस सर्लाहीका तत्कालीन सभापति सुरेन्द्रप्रसाद सिंहले २०८२ साउन ७ गते पार्टी पदबाट राजीनामा दिएपछि जिल्लामा नेतृत्व रिक्त थियो। सोही रिक्तता पूर्तिका लागि नेपाली कांग्रेस विधान–२०७५ (संशोधित सहित) को धारा १२(२)(क) बमोजिम कार्यवाहक सभापतिको जिम्मेवारी सरोज कुमारलाई तोकिएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकले आगामी पुस २५–२६ गते काठमाडौंमा हुने १५औँ महाधिवेशनलाई सफल बनाउन देशभरका जिल्ला तथा स्थानीय तहका संरचना सक्रिय राख्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सर्लाहीमा नेतृत्व व्यवस्थित गर्दै पार्टीको संगठनात्मक गतिविधि सुदृढीकरण, सदस्यता वितरण तथा नवीकरण, अधिवेशन तयारी र आन्तरिक समन्वय सशक्त बनाउन सरोज कुमारलाई जिम्मेवारी दिएको
सूचना तथा सञ्चार प्रचार प्रसारका विभाग मधेश प्रदेशका सचिव निकेश त्रिपाठीले बताए।
पार्टीले जारी गरेको पत्रमा, “जिल्ला संगठनको सम्पूर्ण संयोजन तथा गतिविधि निर्विघ्न सञ्चालन गर्न कार्यवाहक सभापतिको रूपमा दायित्व सम्हाल्न निर्देशन दिइएको” उल्लेख गरिएको छ।
सर्लाही जिल्लामा अब कांग्रेसको संगठनात्मक नेतृत्व सरोज कुमारले सम्हाल्नेछ, जसले जिल्लाभरका पार्टी गतिविधि, अधिवेशन तयारी तथा महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रियालाई अगाडि बढाउनेछ।






















