मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
टेलिकम सेवा बाजुरामा समस्या समाधानका लागि संचार मन्त्रालयमा ध्यानाकर्षण


बाजुरा , मंसिर २४ । बाजुरा जिल्लाका विभिन्न पालिकाहरूमा नेपाल टेलिकम सेवामा देखिएका समस्या समाधानका लागि नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयमा बाजुराका युवा राजेन्द्र रोकायाले ध्यानाकर्षण गराएका छन । हिमाली जिल्ला बाजुराका विभिन्न स्थानीय तहहरूमा नेपाल टेलिकमको सेवा अत्यन्तै कमजोर र अविश्वसनीय बनेको गम्भीर समस्या तर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
जिल्लाका धेरै स्थानहरूमा नागरिकहरूलाई रूखमा चढेर, डाँडामा उक्लिएर मात्रै फोन गर्नुपर्ने बाध्यता रहेको छ । कतिपय ठाउँमा नेटवर्क देखिए पनि फोन कल लाग्दैन, इन्टरनेट सेवा बारम्बार अवरूद्ध हुन्छ । कहिलेकाहीँ पूर्ण रूपमा नै बन्द हुने अवस्था भएको छ ।टेलिफोनको समस्याका कारण जिल्लाभित्र रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारकर्मी, विद्यार्थी र आम नागरिकहरू दैनिकी सञ्चालनमा ठूलो कठिनाइ भोगिरहेका छन्।
विशेष गरी दुर्गम र विकट क्षेत्रका बासिन्दा आपतकालीन अवस्थामासमेत सम्पर्क गर्न नसक्ने गम्भीर समस्या परेका छन् । नेपाल टेलिकमजस्तो राष्ट्रिय सञ्चार सेवा प्रदायक संस्थाको सेवा लामो समयसम्म अवरुद्ध भएका छन ।बाजुरा जिल्लामा देखिएका टेलिकम सेवासम्बन्धी समस्या तत्काल पहिचान गरी शीघ्र समाधानका लागि आवश्यक पहल र निर्देशन दिनुहुन, इन्टरनेट सेवाको पहुँच र गुणस्तर सुधारका लागि स्थायी पूर्वाधार सुदृढीकरण गर्न, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन नियमित अनुगमन तथा प्रविधिक व्यवस्थापन सुनिश्चित गर्न मन्त्रालयमा ध्यानाकर्षण गराएका छन ।






















