मन्त्री कुलमान घिसिङलाई मुगुका युवाले विद्युतको माग गर्दै दिए झरो उपहार

मुगु । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई मुगुका युवाले विद्युतको माग गर्दै झरो उपहार दिएका छ्न् । मुगुमा करिब ९५ प्रतिशत नागरिकले विद्युत सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाले मन्त्री कुलमान घिसिङलाई प्रतीकात्मक ‘झरो’ उज्यालाका लागि बालिने सल्लाको झरो उपहार दिएका हुन् ।
मुगुका युवा आशिष देवकोटाको नेतृत्वमा पुगेको टोलीले मन्त्रीसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा मुगुको विद्युतीयकरण पूर्वाधार विकास नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको उल्लेख गरिएको छ ।
देवकोटाका अनुसार करिब ७० हजार जनसंख्या रहेको मुगुमा अहिले सुचारु रूपमा विद्युत् सेवा पाउन सक्ने संख्या करिब ३५ सयमा सीमित छ । बाँकी अधिकांश नागरिक आज पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा निर्भर छन् ।
उनले मुगुको ठूलो भू–भाग अझै राष्ट्रिय ग्रिडसँग नजोडिनु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु प्रमुख चुनौती रहेको बताए । विद्यालय, अस्पतालका उपकरण, सञ्चार, स्थानीय उद्योग र कृषि प्रशोधन जस्ता क्षेत्रमा विद्युत् अभावका कारण दैनिक जीवन नै प्रभावित भएको छ ।
ध्यानाकर्षण पत्रमा मुगुलाई विशेष विद्युतिकरण प्राथमिकता क्षेत्रको रूपमा घोषणा गर्न, १०० प्रतिशत विद्युत पहुँचका लागि स्पष्ट समयसीमा सार्वजनिक गर्न, दिगो तथा विश्वसनीय वितरण संरचना निर्माणका लागि विशेषज्ञ टोली तत्काल परिचालन गर्न तथा राष्ट्रिय ग्रिडसँग वैकल्पिक ऊर्जा स्रोतलाई एकीकृत गर्दै दीर्घकालीन समाधान अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
‘झरो’ उपहार बुझाउँदै देवकोटाले भने, ‘२२औँ शताब्दीको नेपालमा पनि मुगु अझै अँध्यारोमै छ भन्ने सन्देश मन्त्रीज्यूले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ ।’
ऊर्जा क्षेत्रमा मन्त्री घिसिङको नेतृत्वमा देखिएको सकारात्मक परिवर्तन अब मुगुसम्म पनि शीघ्रै पुग्ने अपेक्षा व्यक्त गर्दै दशकौँदेखि प्रतीक्षामा रहेको उज्यालो अब ढिलो नगरी प्रत्येक घरसम्म पुर्याउन उनले आग्रह गरे । राष्ट्रिय ग्रिडको पहुँच विस्तार हुन नसक्दा र स्थानीय साना जलविद्युत् आयोजनाहरू पनि भरपर्दो नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
बत्ती आए पनि भोल्टेज नहुने, घण्टौँ र दिनौँसम्म अनियमित हुने तथा महिनौँसम्म बत्ती नै नआउने समस्याले मुगुको जनजीवन, पठनपाठन, अस्पतालको सेवा र सञ्चार क्षेत्र ठप्प हुने गरेको गुनासो युवाहरूको छ । जवाफमा मन्त्री घिसिङले एक वर्षभित्र मुगु उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।






















