बिश्व

रुसी आक्रमणसँग लड्न फिनल्यान्ड कसरी गर्दै छ तयारी ?

नवलपुर टुडे
२०८२ मंसिर २३ | बिहान ०९:०८ बजे

काठमाडौं । सम्भावित रुसी आक्रमणसँग सामना गर्न सानो छिमेकी देश फिनल्यान्डको सैनिक माइनस २८ डिग्री सेल्सियसको तापक्रममा अभ्यास गर्दै छ । आखिर किन फिनल्यान्ड आफ्नो ठूलो छिमेकी रुसलाई ठूलो खतरा मान्छ ?

उत्तरी युरोपको सानो देश फिनल्यान्डमा नोभेम्बरदेखि मार्चसम्म सबैभन्दा चिसो हुन्छ । डिसेम्बरको यो जाडोमा फिनल्यान्डका सैनिक लडाइँको अभ्यास गर्दैछन् । हिउँ नै हिउँले भरिएको सीमा क्षेत्र, जहाँको तापक्रम माइनस २८ डिग्री सेल्सियससम्म पुगेको छ, यी सैनिकहरू यदि कुनै दिन उनीहरूको छिमेकीले आक्रमण गयरिहाल्यो भने आफ्नो देशलाई कसरी बचाउने भनेर सिकिरहेका छन् ।

रुससँग फिनल्यान्डको ऐतिहासिक अनुभव
सन् १९१७ डिसेम्बरमा रुसी साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेपछि फिनल्यान्डले सोभियत संघसँग दुई युद्ध लड्यो । पहिलो, १९३९–१९४० को ‘शीतयुद्ध’ र दोस्रो, १९४१–१९४४ को ‘निरन्तरता युद्ध’ । आफ्नो इतिहास अनुभवहरूका कारण फिनल्यान्डले रुसलाई सधैँ आफ्नो सबैभन्दा ठूलो जोखिम र चुनौती मान्दै आएको छ ।

सानो फिनल्यान्डको विशालकाय छिमेकी रूस छ । दुवै देशबीच एक हजार ३४० किलोमिटर लामो सीमा जोडिएको छ । फिनल्यान्डलाई रुसी आक्रमणको आशंका सधैँ रहिआएको छ । युक्रेनमाथि रुसी आक्रमण र पुटिनको विस्तारवादी प्रवृत्तिले फिनल्यान्डलाई खतराको आभास गराइरहेको छ ।

यही कारण सैन्य गुट निरपेक्षताको नीति अनुसरण गर्ने फिनल्यान्ड अप्रिल २०२३ मा नेटोको सदस्य बन्यो । तर, सदस्य बन्नुभन्दा पहिले पनि फिनल्यान्ड नेटोको सहयोगी राष्ट्र थियो ।
 
सन् २०२२ मा जब रुसले युक्रेनमाथि आक्रमण गर्‍यो, त्यतिबेला युरोपेली संघको एकमात्र सदस्य फिनल्यान्ड नै थियो जसको सीमा रुससँग जोडिएको थियो । तर, जो नेटोमा थिएन ।

देशको रक्षा, प्रत्येक नागरिकको जिम्मेवारी
फिनल्यान्डको संविधानअनुसार प्रत्येक नागरिक देशको रक्षामा भाग लिन बाध्य छन् । यो राष्ट्रिय सुरक्षा नीतिको अंग हो । 

यस सम्बन्धमा तीनवटा प्रमुख कानुनहरू छन् । भर्ती ऐन, नागरिक सेवा ऐन र महिलाका लागि स्वैच्छिक सैन्य सेवा ऐन । फिनल्यान्डको यो सैन्य व्यवस्था आफ्नो इतिहाससँग पनि जोडिएका कारणहरू छन् ।

१८ देखि ६० वर्ष उमेर समूहका फिनिश पुरुषहरू अनिवार्य सैन्य सेवाका लागि बाध्य छन् । यसमा सशस्त्र वा निशस्त्र सैन्य सेवा, वा असैन्य सेवा समावेश छ । अपांगता, रोग वा स्वास्थ्य कारणले सैन्य सेवाबाट छुट दिइन्छ ।

प्रत्येक पुरुष नागरिकलाई १८ वर्ष पुगेपछि सैन्य सेवाका लागि बोलाइन्छ । यसलाई कल–अप भनिन्छ । यही सैन्य सेवाका लागि उपयुक्तताको निर्धारण गरिन्छ । यदि, सशस्त्र सेवा गर्न इच्छा नभएमा, यस्तो सैन्य सेवा गर्न सकिन्छ जसमा हतियारको तालिम दिइँदैन । असैन्य सेवाको विकल्प पनि छ, तर यसको पनि तालिम दिइन्छ र काम गर्नु पर्छ ।
अनिवार्य सैन्य सेवा पूरा गरेपछि व्यक्तिहरू रिजर्भमा सारिन्छन् । जसले सशस्त्र तालिम पूरा गरेका हुन्छन्, उनीहरूलाई ६० वर्षको हुन्जेल आवश्यक परेमा फेरि तालिमको लागि बोलाउन सकिन्छ । वा, यदि अवसर आयो भने फिनल्यान्डको रक्षाका लागि लड्न बोलाउन सकिन्छ ।

रुसको बढ्दो खतरा
अनिवार्य सैन्य सेवाको २०२५ को ब्याचमा करिब १९ सय थिए । उनीहरूले ६ महिनाको तालिम पूरा गरे । उनीहरूबाहेक धेरै रिजर्भ बलहरू वा कार्यरत सैनिकहरू पनि ड्रिलमा सहभागी भए । उनीहरूले रुसी सीमाबाट करिब ३२ किलोमिटर टाढा, भुसान्काको हिमशीतल जंगलमा अभ्यास गरे । रिजर्भ सैनिकहरूले रुसले आक्रमण गरेकमा आफ्नो देशका लागि लड्नु उनीहरूको कर्तव्य भएको बताएका छन् ।

युक्रेन युद्धले फिनल्यान्डको असुरक्षा बढाएको छ । यस चिन्तालाई जोड दिँदै मेजर कारी साउकोनेनले भने, “यदि, म आफ्ना नागरिक साथीहरूतिर हेर्छु भने सबैले युक्रेनमा शान्ति आउने आशा गरिरहेका छन् ।” द स्टान्डर्ड 

कमेन्टहरु