प्रधानमन्त्री कार्कीसँगको भेटपछि दुर्गा प्रसाईंले भने फागुनमा निर्वाचन हुँदैन


काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्। सोमबार साँझ सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन्।
प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए । प्रधानमन्त्री कार्कीले आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको पनि प्रसाईंले जानकारी दिए।
२०६२–०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए। सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताए । उनले भने, ‘२०६२–०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने थिएन। राजसंस्था फ्याँक्ने थिएन। कसरी भयो?’























