सिटी सफारीका चालक हत्या प्रकरणमा सात जना पक्राउ


धरान (सुनसरी), मंसिर २२ । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
गत असोज २५ गते शनिबार साँझ प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक, रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए । सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । श्रारम्भिक अनुसन्धानमा चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गराएको देखिएको प्रमुख थेबेले जानकारी दिनुभयो । सोही योजनाअनुसार रकम लेनदेन गरी समूहगत रूपमा गोली प्रहार गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।
सुनसरी र सप्तरीको विभिन्न ठाउँबाट पक्राउ परेकाहरुले प्रारम्भिक सोधपुछका क्रममा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ । सुनसरी जिल्ला अदालतबाट यही मङ्सिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।























