देश

एमाले स्थायी समिति बैठक जारी, नेपाल समूहबारे ‘नयाँ निर्णय गर्नसकिने’ आकलन

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०३:०४ बजे

काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक शुक्रबार दिउँसो बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकले पार्टीको विधान संशोधन गर्ने तथा दशौँ महाधिवशेनबारे छलफल गर्ने बुझिएको छ ।

यसवाहेक माधव नेपाल पक्षका नेताहरुमाथि कारवाही गर्न सकिने समेत अध्यक्ष केपी ओली निकट एक नेताले जानकारी दिए । यसअघि माधव नेपाल पक्षको केन्द्रीय कमिटी तथा स्थायी समिति बैठकलाई उनीहरुले अनाधिकृत रुपमा पार्टीको नामको दुरुपयोग गरेको आरोप ओली पक्षको रहँदैआएको छ ।

यस्तै ओली पक्षले विज्ञप्ति निकाल्दै नेपाल समूहका गतिविधिमा नलाग्न सबैलाई निर्देशन समेत दिएको थियो । शुक्रबारको बैठकले धेरै विषयको छिनोफानो गर्नसक्ने ओली निकट स्रोतले बताएको छ ।

माधव नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी समिति बैठक बसिरहँदा अध्यक्ष ओलीले आफू निकट स्थायी समिति बैठक सुरु गरेका हुन् । नेपाल समूहका नेताहरुले भने आफूहरु अझै पनि एकताकै पक्षमा रहेको प्रतिक्रिया दिँदैआएका छन् । यद्यपि साउन २४ गतेसम्म नयाँ निर्णय नगर्ने पक्षमा नेपाल पक्ष रहेको बताइएको छ ।

अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ । नेपाल पक्षका नेताहरुले अधिवेशन प्रक्रिया रोक्न कार्यदलका ओली पक्षीय नेताहरुसँग आग्रह गरेका छन् ।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ । ३ असोजमा वडा र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय निर्णय गरेको छ। नेपाल पक्षले यी सबै प्रक्रिया रोक्नुपर्ने बताएको छ। नेपाल पक्षबाट नयाँ–नयाँ सर्त आउन थालेपछि संस्थापन पक्षले २०७५ जेठ २ लाई बटमलाइन बनाएको छ। सुरुमा नेपाल पक्षले एमाले र माओवादी केन्द्र एकीकरण हुनुभन्दा पहिलाको अवस्थामा पार्टीलाई फर्काउन माग गर्दै आएको थियो।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल बनाइएको छ। यस्तै संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल बनाइएको छ। बैठकले साउन २७ भित्र सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ।

कमेन्टहरु