भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री शशांक कोइराला


चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन्।
आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका छन्। उनले भने,‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’
पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयसम्ममा नि टुंग्याउन नसकेको भन्दै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशन भन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए।
कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले जानकारी दिए।
उनले भने, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु। संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ। सबै निर्वाचन लडे हारिन्छ। एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ।’ फरक प्रसंगमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सकेको सहयोग गर्ने बताए।रासस






















