जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्याउने धरौटीमा रिहा


काभ्रेपलाञ्चोक, मंसिर १७। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ ।
पक्राउ परेकामध्ये साकार केसीलाई रु ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही रु ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा मोक्तान, रमेश तिमल्सिना, विशाल तामाङ भन्ने विशाल भ्लोन, अभि शुद्धाकार र भिम तामाङलाई जनही रु ३० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको श्रेष्तेदार कार्की बताउनुभयो । त्यस्तै अजय तामाङलाई रु २० हजार धरौटी माग गरेको जनाइएको छ । उहाँका अनुसार धरौटी बुझाएर सबै रिहा भएका छन् ।
प्रहरीले भिडियो र फोटोसहित पक्राउ परेकालाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । क्षतिग्रस्त प्रहरी कार्यालयको रु पाँच करोड ४२ लाख ७६ हजार ४६८ क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको थियो । गत कात्तिक अन्तिम साता पक्राउ परेका अन्य थप पाँचलाई भने मङ्गलबार म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा नीजि संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान भइरहेको बताउनुभयो । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा नीजि संरचनामा क्षति पुर्याइएको थियो ।























