खेलकुद

एनपीएल : साविक विजेताको पतन, उपविजेताको ‘विजय’ यात्रा जारी

नवलपुर टुडे
२०८२ मंसिर १४ | बिहान ०६:०८ बजे

काठमाडौं । पाँच खेलमा पाँच जित निकालेको सुदूरपश्चिम रोयल्सले शनिबार जनकपुर बोल्ट्सलाई हराउन ठूलो संघर्ष गर्नु परेन । नेपाल प्रिमियर लिग (एनपीएल) को एक मात्र अपराजित टिमसमेत रहेको सुदूरपश्चिम योसँगै प्लेअफ पुग्ने पहिलो टिमसमेत बन्यो । गत सिजन पनि यस्तै प्रदर्शनसहित शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले उपाधि जित्न भने सकेन । फाइनलमा जनकपुर नै बाधक बन्दा उपाधिमा चुकेको सुदूरपश्चिम दोस्रो संस्करणमा त्यो भोकलाई मेटाउन व्यग्र देखिन्छ । पाँच खेलसम्म सुदूरपश्चिमले कमजोरी निकाल्ने कुनै ठाउँ छोडेको छैन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला सिजनकै सबैभन्दा धेरै समर्थकले भरिँदा जनकपुर टस जितेर ब्याटिङमा ओर्लियो । तर, कप्तान वायन पार्नेलको यो निर्णयलाई जनकपुरका दुई ब्याटर सञ्जय कृष्णमुर्थी (५० रन) र लोफ्टी इटोन  (३९ रन) बाहेक अरुले न्याय गर्न सकेनन् । पहिलो इनिङमा निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि जनकपुर आठ विकेट गुमाएर १४५ रनसम्म पुग्न सक्यो । सुदूरपश्चिमको रणनीति नै जनकपुरलाई १४० देखि ५० बीचमा रोक्ने थियो । भयो त्यस्तै ।

टी–२० क्रिकेटको यो मध्यम लक्ष्य पूरा गर्न सुदूरपश्चिमले कुनै संघर्ष गर्नुपरेन । १७.४ ओभरमा चार विकेट गुमाउँदा सुदूर लक्ष्यसम्म पुगिसकेको थियो । “हाम्रो लक्ष्य नै जनकपुरलाई १४०–५० को बीचमा रोक्ने भन्ने थियो । यसो हुँदा हामीलाई सहज हुन्छ भन्ने थियो,” जितपछि सुदूरपश्चिमका फास्ट बलर अविनाश बोहराले भने ।

अविनाश, जसले जनकपुरका चार चर्चित ब्याटर, लोफ्टी इटोन, सञ्जय कृष्णमुर्थी, शुभ कंशाकार र कप्तान पार्नेललाई पभेलियनको दिशा देखाए । जनकपुरलाई मध्यम योगफलमा रोक्न स्कट कुग्गेलिनले तीन विकेट लिँदै अविनाशलाई साथ दिए । एक विकेट कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो ।

कमजोर ब्याटिङमा धुमिल बनेको साविक विजेता

चार खेल खेल्दा सबैमा हार बेहोरेको जनकपुरको प्लेअफ समीकरण लगभग समाप्तको स्थितिमा छ । तालिकामा अंकविहीन जनकपुरको गणितीय आधार मात्रै बाँकी रहे पनि सम्भावना निक्कै न्यून देखिन्छ । यी चारै खेलमा जनकपुरले ब्याटिङमा निक्कै संघर्ष गर्‍यो । शीर्ष क्रममा ब्याटर जिम्मेवारी वहनमा चुक्दा टोलीले हालसम्म १४५ भन्दा माथिको स्कोर छुनै सकेको छैन । शनिबार सुदूरपश्चिमविरुद्धको १४५ रन नै एनपीएलको दोस्रो संस्करणमा साविक विजेताले बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघिका तीन खेलमा झन् जनकपुरले १३० रनको स्कोरसमेत पार गर्न नसकेको तथ्यांक छ ।

आजको खेलअघि जनकपुरले आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १३० रन, विराटनगर किंग्सविरुद्ध १२६ रन र पोखरा भएभेन्जर्सविरुद्ध पनि १३० रनमात्रै बनाएको थियो । ब्याटिङमै ‘फ्लप’ बनेपछि जनकपुरले आज नियमित कप्तान अनिलकुमार साहलाई नै बेन्चमा राखेका थियो । उनको स्थानमा पार्नेलले कप्तानी गर्दा आदीत्य महता प्लेइंग–११ मा अटाएका थिए ।

सुदूरपश्चिमविरुद्ध पनि जनकपुरका शीर्ष तीन ब्याटरले १८ रनमात्र थप्न सके । ओपनर माज सदाकतले १२ र तेस्रो क्रमका ब्याटर मयन यादवले ६ रन थप्दा अर्का ओपनर आसिफ सेख भने शून्यमा पभेलियन फर्किए । आसिफ यसअघि पोखरा एभेन्जर्सविरुद्ध पनि ‘गोल्डेन डक’ भएका थिए । यसअघि पोखराविरुद्ध चार रन बनाएर आउट भएका मध्यक्रम ब्याटर शुभ कंशारकार सुदूरविरुद्ध ‘गोल्डेन डक’ भए ।

“हामीले बनाएको योजनाअनुसार खेलाडीले खेल्न सकिरहेका छैनन् । ब्याटिङमा हामी चुकिरहेका छौँ,” लगातार चार हारपछि जनकपुरका ब्याटिङ प्रशिक्षक अनिल मण्डलको गुनासो पनि यसैमा छ । 

‘अजेय’ उपविजेताको

दोस्रो संस्करणमा ‘अजेय’ बनेको सुदूरपश्चिम लगातार पाँच जितसँगै १० अंकसहित शीर्ष स्थानमा छ । प्लेअफ पुग्ने पहिलो टिम बने पनि सुदूरपश्चिमको स्थान भने अबका दुई खेलपछि मात्रै निश्चित हुनेछ । प्रतियोगिताको समूह चरणमा अब सुदूरपश्चिमले चितवन राइनोज र विराटनगर किंग्सविरुद्ध मात्रै खेल्न बाँकी छ ।

यस सिजन सुदूरपश्चिमले यसअघिका चार खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन, कर्णली याक्सविरुद्ध ४५ र लुम्बिनी लायन्सविरुद्ध सात विकेटको सहज जित निकालेको थियो । “टिम भावना एकदम राम्रो छ । एउटा पनि खेल हारेका छैनौँ । गौरवान्वित महसुस गरिरहेका छौँ । हाम्रो टिममा नेपाली खेलाडीहरूले नै राम्रो गरिरहेका छन्,” प्लेअफ पुगेपछि अभिनाशले थपे ।

कमेन्टहरु