खेलकुद

एनपीएल: उत्साहमा रोयल्स, दबाबमा लायन्स

नवलपुर टुडे
२०८२ मंसिर १२ | बिहान ०६:०८ बजे

काठमाडौं । गत सिजन पनि कुनै टिम सबैभन्दा राम्रो लयमा थियो भने त्यसमा निःसन्देह सुदूरपश्चिम रोयल्सको नाम आउँछ । नेपाली क्रिकेटकै उर्वर भूमीको रुपमा परिचित सुदूरपश्चिमले यो ‘ट्याग’लाई न्याय दिन कुनै कसर बाँकी राखेको छैन । 

गत सिजन फाइनलमा निराश बने पनि सुदूरपश्चिमले प्रतियोगिताको लिग चरणमा एक खेलमा मात्रै हार व्यहोरेको थियो । एक वर्षपछि प्रतियोगिताको संस्करण फेरिए पनि सुदूरपश्चिमको लयमा भने कुनै फरक परेको छैन ।

बिहीबार विजयको चौका प्रहार गरेको सुदूरपश्चिमले चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध सात विकेटको सहज जित दर्ता गर्‍यो । यो जितले एनपीएलकै इतिहासमै सबैभन्दा धेरै खेल जित्ने टिमसमेत रहेको सुदूरपश्चिमको प्लेअफ सम्भावनासमेत लगभग निश्चित बनेको छ । 

यता, पछिल्ला चार खेलमध्ये तेस्रो हार व्यहोरेको लुम्बिनीको प्लेअफ समीकरण भने निक्कै कठिन बनेको छ ।

कीर्तिपुरमा सम्पन्न बिहीबारको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको मध्यम लक्ष्य १८.२ ओभरमा तीन विकेट गुमाउँदै सुदूरपश्चिमले आफ्नो अपराजित यात्रालाई लगातार चौथो खेलसम्म लम्ब्याएको हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले, दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले र कर्णाली याक्सलाई ४५ रनले हराएको थियो ।

“चारमा चार जितेका छौँ । राम्रो छ अहिलेसम्म,” लुम्बिनीसँगको जितपछि सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले भने ।

लय भेट्टाउँदै विनोद
लुम्बिनविरुद्धको जितमा ओपनर विनोद भण्डारीले ब्याटिङमा अर्धशतकीय इनिङ खेले । प्रतियोगिताको पहिलो खेलमा ‘डक’ भएका विनोद त्यसपछिका दुई खेलमा भने लय खोज्ने प्रयास गरे । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ४३ रन बनाएका उनले तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ११ रन थपे । चौथो खेलमा भने लुम्बिनीविरुद्ध उनले ४९ बलमा पाँच चौका र चार छक्कासहित ६९ रन बनाए ।

दोस्रो इनिङमा १४४ रनको लक्ष्यसहित मैदान उत्रिँदा सुदूरपश्चिमबाट ओपनिङमा आएका उनी टिमको जितसम्म अविजित रहे । फिल्डिङमा विकेटपछाडि तीन क्याच लिएका विनोद नै ‘प्लेयर अफ दी म्याच चुनिए’ ।

विनोदको गुनासो
जितपछि ‘पोस्ट म्याच प्रेस मिट’मा आएका विनोदलाई ‘राष्ट्रिय टिमको छनोट प्रतियोगिता पनि भनिन्छ नि एनपीएललाई । तपाईंले यसलाई कसरी हेरिरहनु भएको छ ?’ भन्ने प्रश्नले चिढ्यायो । 

जवाफमा विनोदले प्रतिप्रश्न गर्दै भने, “खासमा यसलाई सेलेक्सन खेल हो भनेर कसले भन्छ ?,” उनले गत सिजन आफूले राम्रो प्रदर्शन गर्दा पनि राष्ट्रिय टिमको क्याम्पमा सम्म नपरेको भन्दै गुनासो पोखे । 

“गत सिजन एनपीएलमै राम्रो गर्दागर्दै पनि क्याम्पमा सम्म म परिनँ । त्यसैले मलाई यो सेलेक्सन हो/होइन भन्ने कुराले फरक नै पर्दैन । ५० ओभरको पीएम कपमा पनि त्यस्तै भइरहेको छ । सेलेक्सन नै हो भने पनि प्रदर्शन गरेको खेलाडी किन छनोट हुँदैनन् ? पीएम कपमा पनि सबैभन्दा धेरै रन बनाउने शीर्ष पाँच खेलाडीमध्ये कोही पनि राष्ट्रिय टिममा परेनन् ।”

विनोदका यी सबै गुनासा र प्रतिप्रश्न जायज छन् । गत सिजन एनपीएलमा सुदूरपश्चिमले उपविजेतासम्मको यात्रा तय गर्दा विनोदले नौ इनिङमा एक अर्धशतकसहित २३५ रन बनाएका थिए । गत वर्ष विनोदअघि नेपाली ब्याटरमा रोहितकुमार पौडेल (२७९) मात्रै अघि थिए । 

तर, विनोदले राष्ट्रिय टिममा स्थान पाएनन् । यसै वर्ष सम्पन्न एकदिवसीय प्रतियोगिता पीएम कपका शीर्ष पाँच ब्याटरमध्ये कसैले पनि राष्ट्रिय टिममा स्थान पाएनन् । 

गत मार्च ९ देखि २९ सम्म भएको प्रतियोगितामा गण्डकी प्रदेशका अर्जुन कुमाल ३७४ रनसहित उच्च रनकर्ता बनेका थिए । यस्तै, यो सूचीको दोस्रोदेखि पाँचौँसम्म त्रितराज दास (३६५ रन, त्रिभुवन आर्मी), इशान पाण्डे (३६३ रन, वाग्मती प्रदेश), बसिर अहमेद (३३८ रन, त्रिभुवन आर्मी) र किरण ठगुन्ना (३३७ रन, सुदूरपश्चिम प्रदेश) थिए । यीमध्ये बसिरले मात्रै यो प्रतियोगितापछि राष्ट्रिय टिममा मौका पाए । तर, बसिर पनि अहिले राष्ट्रिय टोलीमा छैनन् । 

एनपीएलमा धेरै जित्नेमा सुदूरपश्चिम, हार्नेमा लुम्बिनी
एनपीएलको पहिलो संस्करणदेखि नै उच्च लयमा रहेको सुदूरपश्चिमले दुई संस्करणका १३ खेलमध्ये दुई खेलमा मात्रै हार व्यहोरेको छ ।

गत सिजन सुदूरपश्चिमले लिग चरणमा चितवन राइनोजसँग ३३ रनले र फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो संस्करणमा सुदूरपश्चिमले लिग चरणका अरु खेलमा विराटनगर किंग्सलाई ९० रनले, काठमाण्डू गोर्खाजलाई ७३ रनले, लुम्बिनी लायन्सलाई ४५ रनले, जनकपुर बोल्ट्सलाई ७२ रनले, पोखरा एभेन्जर्सलाई पाँच रनले र कर्णाली याक्सलाई ६ विकेटले हराएको थियो । 

सुदूरपश्चिमले गत सिजनको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पुनः आठ विकेटले हराएको थियो । 

यस सिजन सुदूरपश्चिमले यसअघिका तीन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन र कर्णली याक्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, लुम्बिनीको लय भने ठ्याक्कै उल्टो छ । लुम्बिनी एनपीएल इतिहासमा हालसम्म ११ खेल खेल्दा नौ खेलमा हार र दुई खेलमा मात्र जितको नतिजा निकालेको छ ।

गत सिजन पुछारमा सीमित बनेको लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग दुई विकेटको, दोस्रो खेलमा पोखरासँग १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनको र चौथो खेलमा जनकपुरसँग एक रनको हार बेहोरेको थियो । 

पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले छैटौँ खेलमा काठमाण्डूसँग १८ रनको र सातौँ खेलमा कर्णाली याक्ससँग पाँच रनले पराजित भएको थियो ।

यस सिजन पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । तर, त्यसयता लुम्बिनीले कर्णाली याक्ससँग नौ विकेट र काठमाण्डू गोर्खाजसँग २२ रनको हार व्यहोरेको थियो ।

कमेन्टहरु