चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन


नारायणगढ (चितवन), मङ्सिर ११ । नेपाल मौरीपालक महासङ्घले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । महासङ्घका अनुसार हाल दुई हजार १७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १८३ गोला मौरी पाल्दै छन् र वार्षिक चार हजार १९२ टन मह उत्पादन भइरहेको छ ।
सो अवसरमा महासङ्घका महासचिव सालिकराम बानियाले सरकारलाई मह र मौरीको तथ्याङ्क उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानको मह उत्पादन सुरु हुन लागेको अवस्थामा गत वर्षको डाटा प्रस्तुत गरिएको हो । यो वर्ष उत्पादन अझ बढ्ने अनुमान गरेका छौँ ।”
क्षेत्रगत उत्पादनको विवरणअनुसार, चितवनमा ३१८ कृषकले २६ हजार ७५० गोला मौरीबाट एक हजार ७० टन मह उत्पादन गर्ने छन् भने दाङमा ३५० कृषकले २६ हजार गोला मौरीबाट एक हजार ४० टन मह उत्पादन गर्ने अनुमान छ । मोरङमा ३०० कृषकले ६ हजार ५०० गोला मौरीबाट २२६ टन, झापामा ५०० कृषकले आठ हजार गोला मौरीबाट २८० टन मह उत्पादन गर्ने अनुमान गरिएको छ । अन्य मह उत्पादन हुने जिल्लामा प्युठान, सर्लाही, मकवानपुर, कपिलवस्तुलगायतका क्षेत्र पर्दछन् । देशका ३० भन्दा बढी जिल्लामा व्यवसायिक मौरीपालन हुँदै आएको र १० गोलाभन्दा माथि मौरी पाल्ने कृषक मात्र महासङ्घमा दर्ता भएको छन् । तर १० गोलाभन्दा कम मौरी पाल्ने कृषक धेरै छन् । साथै, रैथाने सेरेना र अन्य मौरीको तथ्याङ्क पनि निकट भविष्यमा सङ्कलन गरी सार्वजनिक गरिने योजना रहेको महासङ्घले जनाएको छ । पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष पदमप्रसाद अमगाई, पूर्वअध्यक्ष रामप्रसाद पौडेललगायत किसानको सहभागिता रहको थियो ।























