लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएकोमा नेकपा एमालेको आपत्ति


बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाइएको विशेष अधिवेशन संविधान विपरीत रहेको एमालेको दाबी छ ।
लुम्बिनी प्रदेश संसदीय दल एमालेले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।
‘अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुखले बोलाउनुभएको विशेष अधिवेशनप्रति एमालेको गम्भीर आपत्ति छ,’ उनले भने, ‘यो संविधान विपरीत छ, यसले संविधान उल्लंघन गरेको छ ।’ ढकालले विशेष अधिवेशन आह्वानप्रति पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताए ।
उनले सांसद विमला वलीले पार्टीको ह्वीप उल्लंघन गरेको विषयमा पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन आफू वलीको घर दाङ गएको बताए । वली एमाले संसदीय दलको बैठक र दाङ जिल्ला पार्टी कमिटीमा उपस्थित भएर हस्ताक्षर गरेकाले उनी एमाले नै भएको ढकालले तर्क गरे ।
वलीमाथि पार्टीले कारबाही गर्नसक्ने समेत उनले बताए । प्रमुख सचेतक ढकालले मुख्यमन्त्री शंकर पोखरेलले तत्काल राजीनामा नदिने पनि बताए । रासस






















