अमेरिकामा अफगानी नागरिकको लागि अध्यागमन अनुरोध निलम्बित

रासस
२०८२ मंसिर ११ | मध्यान्ह १२:०८ बजे

वासिङ्टन डीसी । अमेरिकाले अफगानी नागरिकका लागि सबै खाले अध्यागमन अनुरोधको प्रोसेसिङ निलम्बन गरेको छ । विचाराधीन सुरक्षा प्रोटोकल समीक्षाका कारण यो निर्णय गरिएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूसीआईएस)ले भनेको छ । माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा यूसीआईएसले भनेको छ, ‘मातृभूमि र अमेरिकी जनताको सुरक्षा हाम्रो एकमात्र ध्येय र लक्ष्य बनेको छ ।’
पूर्व राष्ट्रपति जो बाइडेनको पालामा अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएपछि २०२१ मा दशौं हजारं अफगानीलाई विशेष खालको आप्रवासन सुरक्षामा अमेरिका प्रवेश गर्न दिइएको थियो । ह्वाइट हाउसबाहिर भएको गोलीकान्डका संदिग्धलाई बाइडेनको पालाको अपरेशन एलिज वेलकम नाम गरेको कार्यक्रम अन्तर्गत अमेरिका छिरेका २९ वर्षीय अफगानी नागरिक रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ ।
‘बाइडेनको पालामा अफगानिस्तानबाट हाम्रो देशमा प्रवेश गरेका प्रत्येक विदेशीको पुनः जाँच गर्नुपर्छ ।’ गोलीबारी पछि जारी एक विज्ञप्तिमा ट्रम्पले भनेका थिए । ट्रम्पले यस अघि नै अफगानिस्तान समेत मुस्लिम बाहुल अन्य ११ देशका नागरिकहरूमाथि अमेरिकाको यात्रा प्रतिबन्ध लगाएका छन् । यसैमाथि पछिल्लो निलम्बन लागू भएको छ ।


















