थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित


काठमाडाैँ । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको भारी वर्षाले दक्षिणी प्रान्तहरूमा जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको अधिकारीहरूले बताएका छन् ।
थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुलकियातले सात प्रान्तमा ३३ जनाको मृत्यु भएको पुष्टि गर्दै तीमध्ये आकस्मिक बाढी, करेन्ट लागेर मृत्यु र डुबानका घटना प्रमुख कारण रहेको बताए । उनका अनुसार दक्षिणी भागमा पानीको सतह क्रमशः घट्ने अनुमान गरिएको छ ।विपद् रोकथाम तथा न्यूनीकरण विभागले करिब दश लाख जनसङ्ख्या रहेको सात प्रान्तमा गम्भीर बाढी फैलिएको र हजारौँ बासिन्दा घर तथा होटलमै फसेको जानकारी दिएको छ ।
थाइल्यान्डमा जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा सामान्य मानिए पनि विज्ञहरूले मानव–सिर्जित जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूलाई थप तीव्र र अप्रत्याशित बनाइरहेको चेतावनी दिएका छन् ।यता, छिमेकी मलेसियामा पनि भारी वर्षापछि आएको बाढी आठ राज्यमा फैलिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने मौसम पूर्वानुमानकर्ताहरूको चेतावनीसँगै अवस्थाले अझ चुनौतीपूर्ण मोड लिन सक्ने अनुमान गरिएको छ ।
यो हप्ता मात्र २७ हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । उत्तरपूर्वी तटको केलान्टन राज्यमा एक जनाको मृत्यु भएको उद्धार अधिकारीहरूले जनाएका छन् ।मलेसियाको मौसम विभागले उत्तरी राज्यहरू–पर्लिस, केदाह, पेनाङ र पेराकमा बुधबारसम्म आँधीबेहरी जारी रहने चेतावनी दिएको छ । नोभेम्बरदेखि मार्चसम्म चल्ने उत्तरपूर्वी मनसुनका कारण तीन करोड ४० लाख जनसङ्ख्या भएको देशमा हरेक वर्ष बाढीको जोखिम उच्च रहन्छ ।
सीमापार प्रभाव पनि देखिन थालेको छ । गत हप्ता बाढीले दक्षिणी थाइल्यान्डमा हजारौँ मलेसियाली पर्यटक होटलमै फसेपछि मलेसियाको विदेश मन्त्रालयले लगातार निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रभावितमध्ये अधिकांश बहुतले होटलमा बस्दै आएका थिए र सबैलाई सुरक्षित रूपमा व्यवस्थित गरिएको छ ।
सोमबारसम्म छ हजार ३०० भन्दा बढी मलेसियाली नागरिक थाइल्यान्डबाट सुरक्षित रूपमा सीमा पार गरी स्वदेश फर्कन सफल भएको मन्त्रालयले पुष्टि गरेको छ ।























