प्रहरी/सुरक्षा

चितवनमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

रासस
२०८२ मंसिर १० | मध्यान्ह ०२:०८ बजे

चितवन, मङ्सिर १०। जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ । पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही गरिएको उहाँले बताउनुभयो ।

आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । 

कमेन्टहरु