देश

मन्त्रिपरिषद् बैठकका नौ निर्णय

नवलपुर टुडे
२०८२ मंसिर ९ | बिहान ०४:०८ बजे

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्तिदेखि अध्यादेश ल्याउनेसम्मका निर्णय गरेको छ। सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण यही मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि सुमनराज नयाँ मुख्यसचिव बनेका हुन्। उनी रक्षासचिवका रूपमा कार्यरत थिए।

बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक गरेको विवरणअनुसार नेपाल प्रहरीका नायब महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । उनको उपत्यका प्रहरी कार्यालयमा पदस्थापन भएको छ ।

मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जासम्बन्धी परियोजनाका लागि २३.५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । भैरहवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर २० रुपैयाँ रहेकोमा त्यसलाई घटाएर पाँच रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहने गरी केही कार्यालयहरूको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ।

जेन–जी आन्दोलनमा घाइतेहरूका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए ।

विद्युत् नियमन आयोगलाई साउथ एसिया फोरम फर इन्फ्रास्ट्रक्चर रेगुलेसनको सदस्य बन्न स्वीकृत गर्ने निर्णय पनि भएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने संरक्षित क्षेत्र तथा जैविक मार्ग एकीकृत परियोजनालगायतका परियोजनालाई चाहिने अधिकृतस्तरको ३७ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री पुनले बताए।

कमेन्टहरु