देश

प्रदेशस्तरीय सुरक्षा गोष्टीका लागि गृहमन्त्री अर्याल र प्रहरी प्रमुखहरू भैरहवामा

नवलपुर टुडे
२०८२ मंसिर ८ | मध्यान्ह ०७:०८ बजे

रुपन्देही । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । मंगलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा गृह मन्त्री अर्याल सोमबार रुपन्देहीको भैरहवा पुगेका हुन्।

सोही क्रममा मन्त्री अर्यालले आज एकीकृत जाँच चौकीको निरीक्षण भ्रमण गर्नुभन्दा पहिले लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्नुहुँदै त्यहाँको समग्र बस्तुस्थितिबारे पनि जानकारी लिएका छन्। निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो।   

जाँच चौकीको अवलोकन गर्नुहुँदै मन्त्री अर्यालले त्यहाँका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलसँग कुराकानी गर्दै जाँच चौकीको भौतिक प्रगति तथा निर्माण हुन लागेको जाँच चौकीबाट उपलब्ध हुने सेवाबारे जानकारी लिए।  गृह मन्त्रालयको सचिवालयको अनुसार निरीक्षणका क्रममा प्रमुख भन्सार अधिकृत पौडेलले हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तिय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराए। 

यस्तै, मन्त्री अर्यालले सोमबार नै सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, डण्डा पुगी त्यहाँको समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिको बारे जानकारी लिएका छन् ।  निरीक्षणकै क्रममा मन्त्री अर्यालले त्यहाँका  गुल्म प्रमुखलाई नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने दुःख–हैरानीबारे समेत सचेत सहज आवत जावत गराउन पनि निर्देशन दिए। 

मन्त्री अर्यालले सीमाबाट हुन सक्ने मालबस्तुहरुको अवैध ओसारपोसार, खुला सीमानाका कारण हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्। चुनावको तयारीका लागि गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी गर्न लागेको हो। प्हिलो गोष्ठी मंगलबार लुम्बिनी प्रदेशमा हुँदैछ। 

कमेन्टहरु