पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना

रासस
२०८२ मंसिर ८ | मध्यान्ह ०३:०८ बजे

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ । बङ्गलादेश न्युज २४ ले उनका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै उनलाई आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको बताएको छ ।
अस्पताल आइपुग्नेबित्तिकै आवश्यक सबै परीक्षण गरिएको थियो । प्रारम्भिक रिपोर्टका आधारमा मेडिकल बोर्डले जियालाई एन्टिबायोटिक सुरु गर्ने र तत्कालै द्रुत तथा गहन हेरचाह प्रदान गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । आगामी २४ घण्टाभित्र थप परीक्षणका नतिजा आउने अपेक्षा गरिएको छ र उहाँलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।


















