झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम


गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घासबाट सिमटारीसम्म पर्ने उक्त पक्की सडक किनारमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग उम्रिँदा दुर्घटनाको जोखिम बढेको हो ।अहिले सडकको छेउकुनामा घाँस, रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गएर जम्मा हुनेलगायत समस्या देखिएको छ । ढल तथा नाला व्यवस्थापन नहुँदा वर्षायाममा पानी नालीबाट नभई सडकबाट बग्दा बीचबीचमा खाल्डा परेका छन् ।
वर्षायाममा गएको पहिरो र बाढीले बगाएर ल्याएको फोहर सफा नगर्दा सडक साघुँरिँदै गएको स्थानीय बताउँछन् । तम्घासबाट सिमलटारीसम्म पाँच मिटर चौडाइको २८ किमी उक्त सडक छ वर्षअघि विसं २०७६ मा स्तरोन्नति गरिएको थियो । कुल रु ८७ करोड ९१ लाख रकममा निर्माण गरिएको उक्त सडकबाट पुर्कोट दह, प्युठानलगायत स्थान पुग्ने सवारीसाधन सञ्चालन हुन्छन् ।


















