निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ ।आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्वान गरिएको जानकारी दिए । विभिन्न चरणबाट सुझाव प्राप्त भएपछि आयोगले आगामी माघको १–२ गते आचारसंहिता जारी गर्ने आयोगको तयारी छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको आयोगले जनाएको छ ।


















