समाज

अतियथार्थवादका बादशाह साल्भाडोर डाली

एजेन्सी
२०८२ मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

काथ्रिन ब्राउन। ‘आफू बाँचेको समयमा सबैलाई चकित पार्दै अमर बन्न सकेँ भने मेरो जीत त्यही हुनेछ ।’ माथिको टिप्पणी चर्चित कलाकार साल्भाडोर डालीको हो । कलाकारहरूका बारेमा तयार पारिएको एउटा वृत्तचित्रमा उनको यो भनाइ उल्लेख गरिएको छ । अतियथार्थवाद २०औँ शताब्दीमा सबै भन्दा लामो समय चलेको कला आन्दोलन थियो । 

त्यही आन्दोलनको चिरपरिचित अनुहारका रूपमा रहेका डालीले आफ्नो सार्वजनिक व्यक्तित्वको शक्तिका बारेमा राम्ररी बुझेका थिए । आफ्नो राम्रोसँग मिलाएर चिटिक्क पारिएको जुँगादेखि, ओसेलोट, बाबु आदि नामका घरपालुवा जनावरसँग सार्वजनिक स्थानमा देखिने गतिविधिसम्म उनले आफूलाई कला, मनोरञ्जन तथा विज्ञापनको संसारमा चर्चित र सहजै चिनिने छवि बनाएका थिए ।
 
सन् १९८९को जनवरी २३ मा आफ्नो मृत्यु हुने बेलासम्म आइपुग्दा डालीले आफूलाई मल्टिमिडिया कलाकार, लेखक तथा अन्तर्राष्ट्रिय सेलिब्रेटीका रूपमा समेत स्थापित गरिसकेका थिए ।

अतियथार्थवादी आन्दोलन खासमा पहिले एक सामूहिक प्रयत्नका रूपमा सुरु भएको थियो । सन् १९१८ मा फ्रान्सेली कवि पियरे रेवेर्डीले ‘द इमेज’ शीर्षकमा एउटा निबन्ध प्रकाशित गरे । रेवर्डीले आफ्नो निबन्धमा नयाँ खालको लेखनको शैली प्रस्ताव गरे । जसमा ‘नजिक वा टाढाका दुई फरक यथार्थलाई’ काल्पनिकताले जोड्ने काम गरिन्छ । जसबाट बन्ने नयाँ चित्रले संसारको केवल नक्कल मात्रै गर्दैन । बरु पुरै नयाँ खाले वास्तविकता सिर्जना गरिदिन्छ ।

पछि अर्का लेखक आन्द्रे ब्रेटनले सिग्मण्ड फ्रायडबाट प्रभावित हुँदै रेवेर्डीको विचारलाई थप विस्तृत बनाए । उनले आफ्नो नयाँ विचारलाई सन् १९२४ र १९२९ मा घोषणापत्रकै रूपमा प्रकाशित गरे । जसले कलाकारहरूलाई आफ्नो सृजनशीलतामाथि विवेकशील नियन्त्रण त्याग्न प्रोत्साहित ग¥यो । 

त्यसो हुँदा सपना तथा अचेतनले नयाँ ‘अतियथार्थवादी’ ढंगबाट अभिव्यक्त हुने बाटो पायो । यसले ‘विचारको वास्तविक काम’ लाई मुखर शैलीमा ल्याइदियो ।दृश्यकलामा यस्तो विचारको सबै भन्दा चर्चित प्रयोगकर्ताका रूपमा साल्भाडोर डाली अगाडी आए । सन् १९३९ मा उनले तयार गरेको ‘द लोब्स्टर टेलिफोन’ ले विभिन्न फरक–फरक जगतमा वस्तुहरूको आपसी टक्करको संयोगलाई चित्रित ग-यो । 

असम्बन्धित वस्तुहरूको अनौठो मिश्रणलाई त्यसले प्रभावकारी रूपमा देखायो । दर्शकहरू लोब्स्टरलाई फोन जसरी नै हातमा राखेर, त्यसको पुच्छरमा बोल्दै, त्यसको कडा आवरणमा दैनन्दिन जीवनमा अनुभूतिहरूको निर्बन्धताको कल्पना गर्न सक्थे ।

Dali6

त्यहाँ अनगिन्ती सम्भावनाहरू थिए । डालीले आफ्नो आत्मकथामा लेखेका छन्, ‘झन्डासहितको टेलिफोन, पुदिना रङ्गको टेलिफोन, एक कामुक लब्स्टर–आकारको फोन, चित्ताकर्षक महिलाहरूका लागि भुवादार टेलिफोन तथा भित्र लुकाइएको मरेको मुसा भएको एडगर एलन पो टेलिफोन….’

‘द लोब्स्टर टेलिफोन’ डालिले बनाएको एउटा मात्रै घरायसी सामान होइन । सन् १९१६ मा कोकाकोलाले माए वेष्ट नामकी नायिकाको शरीरको झल्को दिने आकारमा आफ्नो उत्पादन तयार ग-यो । डाली भने आफ्नो कलाकृति तयार गर्न ती नायिकाको ओठ हेर्न थाले । 

उनी आफ्नो बेलायती सहयोगी एडवार्ड जेम्ससँग घरको आन्तरिक डिजाइनका लागि अतियथार्थवादी शैली अपनाउन काम गरिरहेका थिए । त्यसक्रममा डालीले चुम्बन गर्न तम्तयार भएको ओठ जस्तो देखिने विलासी सोफा तयार पारे । 

त्यहाँ बस्ने जोकोहीलाई पनि ओठ आकारको सोफाले चुम्बन गर्ने, वा चपाएर निल्ने जस्तो देखिन्थ्यो । त्यसको चम्किलो रातो संस्करण सन् २०१८ मा ‘भिक्टोरिया एन्ड अल्बर्ट म्युजियम’ले प्राप्त गरेको थियो ।

फ्रायडले मध्यमवर्गीय परिवारहरूलाई उनीहरूको जीवन ग्रीक त्रासदीहरू जस्तै छ भन्ने कुरामा विश्वास दिलाए भने डालीले यो जगत नै मनका कारणले गर्दा अनौठो र सपना जस्तो महसुस हुन्छ भनेर देखाए । 

उनको प्रारम्भिक चित्रकला ‘द एनिग्मा अफ डिजायरः माई मदर, माई मदर, माई मदर’ फ्रायडको मनोविज्ञानमा आधारित कामुक स्वप्नकृति थियो । जसमा उनकी आमालाई एक विशाल चट्टानको रूपमा चित्रण गरिएको छ । चट्टानको सतहमा ‘मेरी आमा’ कुँदिएकी छन् । 

पहिलो पटक सन् १९२९ मा पेरिसमा डालीको एकल प्रदर्शनीमा देखाइएको यो चित्र पछि गएर सन् १९८२ मा क्रिस्टीमा बेचिनु अघिसम्म ३६ वर्ष जुरिचको मनोचिकित्सकको कार्यालयमा झुन्डिएको थियो ।

Dali5

खासमा कसैको पनि सपनालाई सार्वजनिक गरिदिनु असाध्यै जोखिमपूर्ण काम हो । जब डालीले ‘इनिग्मा अफ हिटलर’ नामको चित्र बनाए, त्यस बेला उनका अतियथार्थवादी साथीहरू ज्यादै त्रसित भएका थिए । चित्रमा चुहिँदै गरेको टेलिफोन मुनि सानो हुलाक टिकटमा हिटलरको चित्र प्रस्तुत गरिएको थियो ।  

लोब्स्टर पञ्जाको झल्को पनि देखाइएको थियो । यसमा फाँसीवादी नेताको उत्सव गरिएको थिएन । पछि डालीले हिटलरसँग आफ्नो ‘समस्याग्रस्त’ मोह रहेको स्वीकार गरे । यस्तो स्वीकारोक्तिले ब्रेटनलगायत अतियथार्थवादी समूहका अन्य सदस्यहरूलाई उनीसँगको सम्बन्ध तोड्न प्रेरित ग¥यो ।

डालीको राजनीतिक असफलताहरूकै कारण पतन भएको थिएन । ब्रेटनका अनुसार डालीले अतियथार्थवादलाई लोकप्रिय मनोरञ्जनमा सीमित गरे । निस्सन्देह उनले आफ्ना कामको ठुलो बजार बनाएका थिए । त्यसमा कुनै विवाद छैन । 

सन् १९३४ मा अमेरिकामा पुगेपछि उनले पत्रिकाको आवरणहरू पनि डिजाइन गरे । टेलिभिजन कार्यक्रम ‘ह्वाट्स माई लाइन’ मा पनि सहभागी भए । अत्तर र लिपस्टिकदेखि ‘अल्का–सेल्टजर’ सम्मका उत्पादनहरूको विज्ञापन बनाउने काम गरे ।

तिनै ताका अक्फ्रेड हिचकक नामका चलचित्र निर्देशकले उनलाई आफ्नो चलचित्र ‘स्पेलबाउन्ड’को अन्तिम भागका लागि विभिन्न दृश्यहरू रचना गर्न आग्रह गरे । त्यस बेला पग्लिरहेका घडीहरू, जलिरहेका जिराफहरू तथा अनौठो सपना जस्तो परिदृश्यहरू जस्ता लाग्ने अतियथार्थवादी चित्रहरू अवचेतन दिमागका प्रसिद्ध प्रतीकको रूपमा स्थापित भइसकेका थिए ।

रुसमा जन्मिएकी एलेना इभानोभना डायकोनोभा उनकी श्रीमती हुन । उनले डालीको सफलतामा ठुलो भूमिका खेलिन् । हालैका अध्ययनहरू तथा क्याटालुनियाको राष्ट्रिय कला सङ्ग्रहालयमा भएको प्रदर्शनीले देखाए अनुसार उनी केवल मोडेल मात्रै थिइनन् । 

गाला नामले चिर–परिचित उनकी श्रीमती आफैले पनि कलाकृतिहरू सिर्जना गरेकी थिइन । कलाकृतिका व्यापारीहरूसँग डालीका कृति बेच्नका लागि विभिन्न छलफल र सल्लाह गरेर डालीलाई सघाउँथिन् । डालीका लेखहरू सम्पादनको काम गर्थिन । साथै ‘गाला–साल्भाडोर डाली’ भनेर संयुक्त हस्ताक्षर गरिएका सिर्जनाका काममा आफ्ना श्रीमानसँग सहकार्य समेत गरिन् उनले ।

समकालीन कलाको क्षेत्रमा सेलिब्रेटी संस्कृति विकास हुनुमा डालीको बिनोदी तथा दृश्य बुद्धि एवं व्यक्तित्वमा आधारित सम्प्रदायको पनि ठुलो देन छ । डालीको सिर्जनालाई लिएर ब्रेटनले कला र मनोरञ्जनको विलयका बारेमा चिन्ता गर्ने गर्थे । 

यद्यपि अतियथार्थवादलाई खास स्वरूप दिने तथा यो स्तरको महत्त्वपूर्ण विधामा स्थापित गराउने व्यक्ति उनै डाली हुन भन्नेमा कुनै शङ्का छैन ।

(प्रस्तुत आलेख लोहबोरोह विश्वविद्यालयमा अध्यापनरत काथ्रिन ब्राउनले द कन्भरसेसनका लागि तयार पारेका हुन् ।)

कमेन्टहरु