नीतीश कुमारको नयाँ मन्त्रिमण्डलमा को–को बने मन्त्री ?


काठमाडाैँ । भारतको बिहार राज्यमा नीतीश कुमारले मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै नीतीश १० औँ पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।पटनाको गान्धी मैदानमा भएको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, एनडीएका नेताहरूसहित विभिन्न प्रदेशका मुख्यमन्त्री उपस्थित थिए ।
समारोहमा नीतीशसँगै अन्य २६ मन्त्रीले शपथ लिएका छन् । यसमा भाजपाको कोटाबाट १४ मन्त्री र जेडीयू कोटाबाट ९ मन्त्रीले स्थान पाएका छन् । योसँगै चिराग पासवानको एलजेपी (रामविलास)ले दुई मन्त्री पायाे । जितनराम मान्झीको हम पार्टीले एउटा र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले पनि एक मन्त्री पद पाएकाे छ ।
बिहारको नयाँ सरकारमा विजयकुमार चौधरी, विजयेन्द्रप्रसाद यादव, श्रवणकुमार, मंगल पाण्डे, दिलीप जैसवाल, अशोक चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।त्यसपछि राज्यपाल आरिफ मोहम्मद खानले लेसी सिंह, नितिन नवीन, मदन साहनी, राम कृपाल यादव, सन्तोषकुमार सुमन र सुनिल कुमारलाई पद तथा गोपनीयताको शपथ गराए ।
मोहम्मद जामा खान, सञ्जय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद, रामा निषादलाई पनि शपथ ग्रहण गराइएको थियो ।अन्तमा लखेन्द्रकुमार रोशन, श्रेयसी सिंह, डा. प्रमोद कुमार, सञ्जय कुमार, सञ्जयकुमार सिंह र दीपक प्रकाशले शपथ ग्रहण गरी कार्यक्रमको समापन भयो ।
बिहार विधानसभा चुनावको मतगणना नोभेम्बर १४ मा भएको थियो । यसमा एनडीएले २०२ सिट पायो । भाजपाले सबैभन्दा बढी ८९ सिट, जेडीयूले ८५ सिट, चिराग पासवानको एलजेपी (रामविलास) १९, जितन राम मान्झीको ह्यामले ५ र आरएलएमओले ४ सिट पाएका थिए ।























