गण्डकी प्रदेश, राजनीति

मंसिरभित्र नियमित महाधिवेशन गर्न कांग्रेस गण्डकीको माग

नवलपुर टुडे
२०८२ कार्तिक ३० | बिहान ०७:०७ बजे
 
कास्की । कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औं महाधिवेशन मंसिर महिनाभित्र गर्न माग गरेको छ । नियमित महाधिवेशन गर्न नसकेको खण्डमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी माग गरेअनुसार मंसिर महिनाभित्र विशेष महाधिवेशन हुनुपर्ने माग समेत भेलाले गरेको छ । पार्टीको नियमित महाधिवेशनको विषयमा देखिएको अन्योलतासँगै देशको वर्तमान परिस्थितिका सम्बन्धमा आवश्यक छलफल गर्न प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा सम्पन्न विशेष भेलाले सो माग गरेको हो ।

भेलामा प्रदेश कार्य समितिका पदाधिकारी, जिल्ला सभापतिहरू, गण्डकी प्रदेश कार्यसमितिका सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय कार्यसमितिका सभापतिहरू, प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरू, प्रदेश प्रतिनिधिहरू र प्रदेश मातहतका पालिका कार्यसमितिका सभापतिहरू, गण्डकी प्रदेश सभा सदस्यहरू, पालिका प्रमुख, उपप्रमुख-अध्यक्ष, उपाध्यक्षहरू लगायतको सहभागिता थियो । भेलाले पार्टीको स्थानीयदेखि केन्द्रीय समितिको पदावधि समाप्त हुन लागेको वर्तमान अवस्थामा नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विषयमा बहस भइरहनुलाई दुर्भाग्यपूर्ण भन्दै यसै विषयलाई लिएर करिब एक महिनादेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसक्दा झन अन्यौलता सृजना गरेको निश्कर्ष समेत निकालेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माका अनुसार लामो समयसम्म अनिर्णयको बन्दी भएर वसिरहदा तल रहेका कार्यकर्ता र सुभेच्छुकहरुमा निराशा बढिरहकोले अब कांग्रेस अलमलिनु हुँदैन, रोकिनु हुँदैन, स्पष्ट दृष्टिकोण लिएर निर्भिकताका साथ अगाडि बढ्न चुक्नु हुँदैन भन्ने मान्यता प्रदेश समितिको रहेको छ । वर्तमान अवस्थाबाट सुध्रेर नयाँ परिवर्तित अवस्थाको कांग्रेस बनेर आम निर्वाचनमा जनताका साथ जानुपर्ने टड्कारो खाँचो रहेकोले आगामी मंसीर महिना भित्र १५औं महाधिवेशन गर्नु पर्दछ भन्ने भेलाले ठहर गरेको छ । यदि कुनै कारणवस नियमित महाधिवेशन गर्न नसकिने अवस्था भएको हो भने पार्टीको विधान बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशन मंसिर मसान्तभित्र अनिवार्य गर्ने ठहर गर्दै गरेको निर्णय केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय भेलाले गरेको हो । 

कांग्रेसको गौरवपूर्ण इतिहासमा आफ्नो सिद्धान्त र आदर्शप्रति अविचल निष्ठा प्रकट आइरहेको छ । अहिले देशमा विषम परिस्थिति रहेको र राष्ट्र, प्रजातन्त्र र पार्टीको रक्षा र हालसम्मको उपलब्धीको रक्षा कांग्रेसको काँधमा पुनः एकपटक आइपरेको छ । यसैले यस अवस्थामा सम्पूर्ण कांग्रेसका कार्यकर्ताहरु एकताका साथ उच्च मनोवल लिएर अगाडि बढ्न यो भेला आह्वान गर्दछ । साथै, कांग्रेसले आफ्नो ऐतिहासिक विरासत राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको बाटो बाट नै आफ्नो संगठन र प्रजातन्त्रको भविष्य उज्जवल रहने कुरा हृदयगम गर्दै अगाडि बढ्ने प्रण गर्ने निर्णय समेत भेलाले गरेको छ । 

भेलाले जेन–जीको प्रर्दशनका क्रममा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धान्जली, घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना, पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्यहरू माथि भएको अमानवीय र बर्बर हमलासँगै सांघातिक आक्रमण, पार्टी कार्यालय, सरकारी तथा निजी सम्पत्ति र कार्यकर्ताको निवासमा भएको आगजनीको घोर भत्र्सना एवं निन्दा गरेको छ ।

कमेन्टहरु