भ्रष्टाचारविरुद्ध मतपत्रबाटै कडा कारबाही गर्नु पर्छ:प्रभु साह


रौतहट । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले नेपालमा व्यापक रूपमा फैलिँदै गएको भ्रष्टाचारको अन्त्य अब जनताकै हातमा रहेको बताउँदै बाइलेट (Ballot) अर्थात् मतपत्रमार्फत भ्रष्ट नेताहरूलाई स्पष्ट रूपमा बहिष्कार गर्नुपर्नेमा जोड दिएका छन्।
आज रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ७ पिपरिया अधारभूत स्वास्थ्य सेवा केन्द्र समारोहलाई सम्बोधन गर्दै साहले वर्तमान राजनीतिक नेतृत्वले देशको समृद्धि, सुशासन र विकासको आशामा पानी फेरिरहेको आरोप लगाए। उनले भने, “जनतासँग सबैभन्दा ठूलो शक्ति मतपत्र हो। यही मतपत्रले भ्रष्ट, अयोग्य र देशलाई दुर्गति तर्फ लैजाने नेताहरूलाई हटाउन सक्छ। अब नाराले होइन, बाइलेटले नै कारबाही गर्ने हो।”
उनका अनुसार राज्यका संरचनाबाट भ्रष्टाचार उन्मूलन गर्न जनतामा राजनीतिक चेतना, सक्रियता र साहस आवश्यक छ। साहले थपे, “देश अगाडि बढ्न नेताको स्वार्थ होइन, जनताको चाहना मुख्य हुनुपर्छ। त्यसका लागि जनताले स्वतःस्फूर्त रूपमा स्वच्छ, इमानदार र देशहितमा समर्पित नेतृत्वको चयन गर्न आवश्यक छ।” अध्यक्ष साहले भ्रष्टाचार विरुद्धको संघर्षलाई केवल अभियान वा प्रदर्शनमा सीमित नराखी प्रत्यक्ष रूपमा चुनावी प्रक्रियामा निर्णय लिनुपर्ने बताए।
उनका अनुसार मतपत्रमार्फत गरिने जननिर्णय नै देशको भविष्य तय गर्ने निर्णायक माध्यम हो। साहले अन्त्यमा देशभरका नागरिकलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र उत्तरदायी नेतृत्व चयनका लागि आगामी निर्वाचनमा जिम्मेवार र सचेत मतदान गर्न आह्वान गरेका छन्।























