पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

रासस
२०८२ कार्तिक २७ | मध्यान्ह ०५:०७ बजे

काठमाडौँ, कात्तिक २७ । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीसमेत रहनुभएका ऊर्जामन्त्री घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, “उद्योगलाई विद्युत् नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।























