रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

रासस
२०८२ कार्तिक २७ | मध्यान्ह ०२:०७ बजे

गुल्मी, कात्तिक २७ । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिनुभयो ।
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताउनुभयो ।
रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ ।























