समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : नेता रावल


काठमाडौँ, कात्तिक २६ । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पूरा गर्नुपर्ने बताउनुभएको छ । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताउनुभयो ।
नेकपाको नेतृत्वमा देशका चुनौती समाधान, जनताको आवश्यकता पूरा र राष्ट्रिय स्वाधिनताको संरक्षण गर्ने महाअभियान सुरु भएको उद्घोष गर्दै उहाँले एकता अभियानलाई सफल बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने भावनाका साथ आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको बताउनुभयो । “एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलालको विरासत थाम्न सकेन, जनजनेता मदन भण्डारीको पनि पार्टी हुन सकेन”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी श्रमजीवीका महासचिव प्रमोदनारायण यादवले नेपाली कम्युनिष्ट पार्टीको एकता अभियानलाई जनस्तरमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै जनजीविकाको सम्बोधन यस पार्टीबाट मात्र सम्भव रहेको बताउनुभयो ।























