मतदाता नामावली दर्ता गर्नेको चाप उच्च


म्याग्दी, कात्तिक २६। जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ । आयोगले तोकेको मिति नजिकिदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरु नामावली दर्ताका लागि कार्यालयमा आएका छन् ।
बेनीकी जाफ्रिन हुसेनले निर्वाचनप्रति स्थिरता, शुसाषन, विकास, रोजगारी सिर्जना, शान्तिको अपेक्षा गरेको बताउनुभयो । जासिम मियाले नेपालमा दिगो शान्ति, विकास र सम्बृद्धि चाहेको बताउनुभयो ।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । मंगलबारसम्म नयाँ चार सय ८८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ताको ब्यवस्था मिलाइएको छ ।
वि.स. २०७९ मा भएको प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार ८४ हजार पाँच सय २० जना कायम भएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता संख्या घटेको हो । ४१ हजार एक सय ७४ जना पुरुष, ४३ हजार तीन सय ४५ महिला र एक जना अन्य छन् । मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाईसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका छन् ।























