देश

सिराहामा बलात्कारको घट्नालाई १० लाख रुपियाँ क्षति भराएर उन्मुक्ती दिने पञ्चहरु र बलात्कारी पक्राउ

नवलपुर टुडे
२०७७ अशोज २० | मध्यान्ह १२:०६ बजे

सिराहा । सिराहामा एक बलात्कार घटनालाई १० लाख क्षतिपुर्ति भराएर उन्मुक्ति दिने निर्णय गर्ने पञ्चहरु पहरीको फन्दामा परेका छन् ।

यस अघि सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरकी १७ वर्षीया किशोरी माथि चार जनाले सामुहिक बलात्कार गरेको घटनामा पञ्चायतीका नाममा मिलापत्र गर्न दबाब दिने बिरुद्ध कानुनी कार्बाही भएको थियो । यस्तो प्रकरण पछि ती युवतीले न्याय नपाएको महसुस गरी आत्महत्या गरेकी थिईन् ।

सोही प्रकृतिमा गत सोमबार सिरहाको विष्णुपुर गाउँपालिका–१ की १६ वर्षीया किशोरी छिमेक कै युवकबाट बलात्कारको सिकार भएकी थिईन् । चिनजानकै युवकले किशोरीलाई घरमा कोही नभएको मौका पारेर साँझ बलात्कार गरे । किशोरीले प्रतिकार गर्न खोज्दा मुखमा कपडा कोचे । पछि बिराटनगर सम्म लगेर उनको उपचार गर्नु परेको थियो ।

उनको उपचार चल्दा चल्दै पञ्चहरुको भेलाले पीडक र पीडित दुवै पक्षलाई प्रभावमा पारेर गाउँको इज्जत बाहिर जान दिनुहुन्न भन्दै मिलापत्रमा घटना टुंग्याउने निर्णय गरे । जसमा १० लाख रुपैया पीडित परिवारलाई दिने सहमति भएको थियो ।

तर यो निर्णयको सूचना प्रहरी सम्म पुगेपछि प्रहरीले कानुनी कार्बाही थाल्यो । त्यस पछि प्रहरीले बलात्कार गर्ने युवा सहित मिलापत्र गराउने पञ्चहरुलाई प्रहरीले शनिबार नियन्त्रणमा लियो । शनिबार पक्राउ परेका सबैलाई १५ दिनको म्याद थपेर हिरासतमा राखेर अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

घटनाका अभियुक्त विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साह र पञ्चहरु ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका छन् ।

पञ्चायती गर्ने केही काँग्रेस र जनता समाजवादीका स्थानीय नेता समेत रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु