ताप्लेजुङमा मंसिर ७ देखि फुङफुङदेन झरना महोत्सव हुने


ताप्लेजुङ । आगामी मंसिर ७ गतेदेखि ११ गतेसम्म फुङफुङदेन झरना सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। फुङफुङ्गे झरनाको प्रचार–प्रसार र जिल्लाको पर्यटन सम्भावनालाई देशभर चिनाउने उद्देश्यसहित महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवका क्रममा विविध सांस्कृतिक कार्यक्रमसहित आमन्त्रित फुटबल प्रतियोगितासमेत हुने भएको छ।
प्रतियोगिताको विजेता टोलीलाई तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेता टोलीलाई एक लाख ५२ हजार ८२ रुपैयाँबराबरको पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक विजय प्रकाश लिम्बुले मंगलबार फुङलिङमा पत्रकार सम्मेलन गरी जानकारी दिए। स्थानीय स्तरमा उत्पादित नगदेबाली अलैँचीको प्रचारप्रसार तथा उत्पादनलाई विशेष जोडदिने उद्देश्यले पुरस्कारको राशिअनुसारको ताप्लेजुङमै उत्पादित अलैंची दिइने संयोजक लिम्बुले जानकारी दिए।
महोत्सवको मुख्य उद्देश्य नेपालकै अग्लो करिब ३८० मिटर उचाइको फुङफुङ्गे झरनाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउनु रहेको उनले बताए। कार्यक्रममा उपस्थित हुने अतिथिहरूलाई समेत मायाको चिनो स्वरूप अलैंची उपहार दिइने बताइएको छ। राष्ट्रिय स्तरका कलाकारलाईसमेत समावेश गरिने महोत्सव सञ्चालनका लागि करिब १९ लाख ५० हजार ११० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
आयोजक समितिले महोत्सवलाई भव्य र आकर्षक बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाएको जनाएको छ।























