मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल


काठमाडौँ, कात्तिक २४। मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको छ ।खानेपानी मन्त्रालय र सङ्घर्ष समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा आज पनि पुनः छलफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले राससलाई जानकारी दिनुभयो ।
विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा विद्युत् महशुल जरिवानासहितको मिनाहा गर्न सम्बन्धित निकायमा पहल गर्ने, हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न सङ्घिय शिक्षा मन्त्रालयमार्फत हुनेगरी विशेष पहल गर्ने, हेलम्बु गाउँपालिकाका जोखिममा रहेका सार्वजनिक संरचाना, घर, वस्ती सुरक्षा सम्बन्धि एकीकृत विकास कार्यक्रम तथा नयाँ शहरका रूपमा विकास गरी तत्काल अध्ययन कार्य अगाडि बढाउन शहरी विकास मन्त्रालयमार्फत हुने गरी विशेष पहल गर्नेलगायत सम्झौता भएको थियो ।
आइतबार मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यको अध्यक्षतामा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक दास, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल र जेनजीका प्रतिनिधि सहभागी थिए । सङ्घर्ष समितिले काठमाडौँले मेलम्चीको पानी उपभोग गरेबापत् स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ । स्थानीयले गत बिहीबार मेलम्चीको पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरी मेलम्ची खोलाको पानी खोलातिर फर्काएका थिए ।























