उन्नत जातका धानखेतीतर्फ आकर्षण


गलेश्वर (म्याग्दी) कात्तिक २४ । गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ ।
वासनामय ‘गौरिया’ धान अहिले बगरफाँटका खेतमा पाइनै छाडेको स्थानीय पदमपाणि शर्मा बताउनुहुन्छ । उहाँका अनुसार पहिलापहिला बगरफाँटमा झुल्ने गौरिया र गुडुरा धान खेत वरपरसमेत हरहर बास्ना आउने गरेकामा अहिले रासायनिक मल प्रयोग गरेकै कारण होला, भान्छामा पनि बास्ना आउन छाडेको छ । “उत्पादन त कम हुने नै भयो, पहिलोको तुलनामा स्वाद पनि हराएको छ,” उहाँले भन्नुभयो । समुद्री सतहबाट करिब ३०० मिटरदेखि एक हजार २०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, गुडुरा, आँगा, जौ, भट्टे, मार्सी, ठिमुहा, जेठोबुढो, पोखरेली, ताकमारे बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गौरीया, गुडुरा जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता रैथाने जातका धान लगाउने चलन कम हुँदै गएको र माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेतीतर्फ कृषक आकर्षित हुने गरेको देखिन्छ ।























