देश

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

जगत ठाडा मगर
२०७८ साउन २० | बिहान ०९:०४ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ठाडो निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न देउवाले भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो ।

शाक्यले गरेको काम सन्तोषजनक नभएको ठहरसहित देउवा सरकारले उनलाई पदमुक्त गर्ने तयारी थालेको हो । दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।

त्यतिबेला नै उनको पुनर्नियुक्ति हुनुपर्ने जनताको आवाज उठेपनि ओली सरकारले नियुक्ति दिएको थिएन । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो।

ओली सरकारको बहिगर्मनपश्चात प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन् ।

कमेन्टहरु