मौरी चरनका लागि दाङ पुगे नवलपुरका मौरीपालक


नवलपुर (नवलपरासी), कात्तिक २१। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरु चरनका लागि पश्चिमतर्फ लागेका छन् । दाङलगायतका जिल्लामा करिब एक महिना पहिले तोरी फुल्ने भएकाले नवलपुरका किसान मौरी लिएर दाङ लागेका हुन् ।
मह उत्पादन र खपत हुने हिउँदको समयमा सरकारले विदेशबाट मह आयात गर्दा स्वेदशी मौरीपालक किसान मर्कामा पर्ने गरेको विष्णुप्रसाद भुसालले बताउनुभयो । “सरकारले नीति बनाएर नै नेपाली किसानको मह बिक्री नभएसम्म मह आयात गर्न नपाइने अवस्था सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालमा प्राकृतिक रुपमा शुद्ध मह उत्पादन हुने भएकाले गुणस्तरीय हुने भन्दै आयात गरिएका मह गुणस्तरीय नहुने गरेको प्रयोगशालाबाट पुष्टि भएको छ ।” सरकारको अनुगमन संयन्त्रले जिल्लामा गरेको अनुगमनका क्रममा विभिन्न बहुराष्ट्रिय कम्पनीको ट्याग राखेर बिक्री भइरहेको मह गुणस्तरहीन भेटिएको भुसालको भनाइ छ ।
“किसानको मह बिक्री नहुनु एउटा समस्या हो भने उपभोक्ताले गुणस्तरहीन मह उपभोग गर्नुपर्ने अवस्था अर्को गम्भीर स्वास्थ्य समस्या हो”, उहाँले भन्नुभयो, “सरकारले उपभोक्ताको हित र किसानको हितलाई ध्यानमा राखेर मह आयातको नीति लिनुपर्छ ।” किसानले विभिन्न स्थानमा मौरी डुलाएर प्राकृतिक रुपमा गुणस्तरीय मह उत्पादन गर्दा बजार नपाउनु भनेको राष्ट्रिय समस्या भएको उहाँले बताउनुभयो । मध्य नेपालबाट पश्चिम नेपालको कपिलवस्तु, दाङलगायतका क्षेत्रमा अगौटे तोरी हुने र विषादी पनि नछर्ने भएकाले हिउँदको समयमा मौरी चरानका लागि लैजाने गरेको बताउनुहुन्छ ।
व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानले एउटा घारमा १० वटा फ्रेम बनाएर मौरी राख्ने र प्रतिघार बर्सेनि ६० किलोसम्म मह उत्पादन हुने गरेकोमा पछिल्लो समय मह उत्पादनमा गिरावट आएको भुसालले बताउनुभयो । नेपालका व्यावसायिक मौरीपालक किसानले महको राम्रो उत्पादन हुने भएकाले विकासे मौरी (एपिस मेलिफेरा, एपिस सेरेना प्रजातिका मौरी) पालन गर्दै आएका आएका छन् ।
तोरी फुल्ने समयमा मह उत्पादनमा सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको छ । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरी, भोर्ले जस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठीक हुने भए पनि किसानले खेती गर्नसमेत छाडेका छन् ।
नेपालमा १३ हजार ५०० भन्दा बढी किसानले व्यावसायिक रुपमा दुई लाख ५० हजारभन्दा बढी मौरीको घारबाट बर्सेनि पाँच हजार १८० मेट्रिकटन मह उत्पादन गर्दै आएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क (विसं २०८०) मा उल्लेख गरिएको छ ।























