वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना


काठमाडौँ, कात्तिक १९ । वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा विभागका अभिखेल जलेर नष्ट भएका छन् । सोही कारण प्रत्येक म्यानपावर कम्पनीको धरौटीको छुट्टाछुट्टै विवरण नदेखिने भएकाले कागजात जलेर नष्ट भएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले गत असोज २७ गते मुचुल्का तयार गरेको विभागले सूचनामार्फत उल्लेख गरको छ ।
सोही मुचुल्काका आधारमा नष्ट भएका धरौटी अभिलेख अध्यावधिक गर्न वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण संस्थालगायतसँग सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउन आग्रह गरिएको विभागले जनाएको छ ।
सूचनाअनुसार म्यानपावर कम्पनी वा अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट धरौटी दाखिलाको भौचरको प्रमाणित प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रमाणित प्रतिलिपि, धरौटीको यथार्थ विवरणसहितको स्वघोषणापत्र, आवश्यक परे बैंकबाट भएको कारोबारको प्रतिलिपि, व्यक्तिगत धरौटीका हकमा भौचर र निवेदन, धरौटी प्रयोजन खुलेको पत्र तथा नागरिकताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने जनाइएको छ ।























