वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री


काठमाडौँ, कात्तिक १८। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ ।
“वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधानका लागि बोर्डले सुरु गरेको ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिक हितका दृष्टिले उपयोगी देखिएका छन्”, उहाँले भन्नुभयो, “यसैगरी सबै कल्याणकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराएर सेवाग्राहीको पहुँच बढाउन बोर्डले चालेका कदम प्रशंसनीय छन् ।”
प्रधानमन्त्री कार्कीले अब वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमा नै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न, सीपमा आधारित उद्यम र पुनः एकीकरणका कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्ययोजना तयार गरेर तदनुरुप काम गर्न निर्देशन दिनुभयो ।























