खेलकुद

टाइब्रेकरमा भारतमाथि नेपाल ३–० ले विजयी

नवलपुर टुडे
२०८२ कार्तिक १२ | मध्यान्ह ०७:०७ बजे

काठमाडौँ । नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल टाइब्रेकरमा ३–० ले जितेको छ ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक रहिन् र उनले भारतका दुई प्रहार रोकिन् । भारतको एक अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे ।

कप्तान अनिता बस्नेतको प्रहार भने बाहिरिएको थियो । त्यस अगाडि नेपाल एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकाल्न सफल भएको हो । सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतले सौम्या गुगुलोथको गोलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा नेपाल बराबरी गोल फर्काउन सफल रह्यो । अनिताको कर्नर प्रहारमा रश्मिकुमारी घिसिङले हेड गर्दै बललाई पोस्टको दिशा दिएकी थिइन् । यससँगै नेपालको भारत भ्रमण टुंगेको छ ।

थ्री नेसन्स कपमा नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ३–० ले पराजित रहेको थियो । दोस्रो खेलमा भने भारतलाई २–१ ले हराउन सफल रहेको थियो ।

कमेन्टहरु