प्रहरीमा सरुवा वढुवामा सुधारको खाँचो


-पुर्व प्रनाउ भोजराज पाण्डेय
देशमा शान्ति सुब्यवस्था तथा अमन चयन कायम गर्ने प्रमुख उद्धेश्यका साथ स्तापित नेपाल प्रहरी संगठनको इतिहास करिब ७ दशक भन्दा लामो छ । त्यस अगाडि पनि देशमा प्रहरी नभएको त होइन । तर प्रहरीको काम मिलिसिया, कोतवाली आदि नामबाट कार्य सम्पादन गर्ने गरेको पाइन्छ । देशमा बिधमान कानून (जसले नागरिकको हक अधिकारको सीमा निर्धारण गरेको हुन्छ), को सफलतापुर्वक कार्यान्वयन गर्ने काम जुनसुकै प्रहरी भएका देशहरुमा प्रहरीको हुन्छ । नेपालमा पनि नेपाल प्रहरीले कानून कार्यान्वयन गर्ने काम सफलतापुर्वक गरिरहेको नै छ ।
सामान्य झैझगडा देखि लिएर जघन्य प्रकारका अपराधहरु नियन्त्रण गर्ने प्रहरीको भएको कारणले गर्दा पनि प्रहरीले गर्ने हरेक क्रियाकलापहरुमा मानिसको नजर रहिरहेको हुन्छ । त्यसकारण पनि आफ्नो इलाका वा जिल्ला तथा प्रदेशमा सरुवा तथा बढुवा भएर आउने हरेक प्रहरी कर्मचारी र तिनका क्रियाकलापहरु त्यस क्षेत्रमा बसोवास गर्ने मानिसहरुको चासोका बिषयहरु बन्दछन् । नागरिकको सुरक्षालाई प्रहरीले कदापी हल्का रुपमा लिनु हुंदैन् । नागरिकको अपेक्षा समाजमा कुनै पनि प्रकारको घटना हुन नपाओस भन्ने हुन्छ । त्यसको लागि प्रहरी सदैव चनाखो रहनु पर्ने हुन्छ ।
काम गर्ने मनसाय राखेर आफ्नो कर्तव्य पालना गर्ने हो भने समाजमा हुने जुनसुकै गैरकानूनी क्रियाकलापहरु प्रहरीले नियन्त्रण गर्न सक्दछ। कानून कार्यान्वयन गर्ने सवालमा शुन्य सहनशीलताका साथ काम गर्ने चाहाना कमाण्डरमा हुनु जरुरी हुन्छ । त्यसको लागि पहिला आफू पनि सक्षम हुनु पर्दछ । प्रहरीको आधारभूत तालीमा सिकेका कुराहरुले मात्र कुनै पनि प्रहरी कर्मचारी व्यबसायिक बन्न सक्दैन । तालीममा सिकाइएको सीमित ज्ञानले जनताको चाहाना अनुसारको सेवा दिन सकिदैंन् । त्यसकारण आफूलाई व्यसायिक प्रहरी कर्माचारीको रुपमा स्थापित गर्नको लागि बिषयगत सेवा तालीम साथसाथै शैक्षिक स्तर सुधारको लागि पनि अध्ययन जारी राख्नु पर्दछ । जसले जनचाहना अनुसारको सेवा प्रदान गर्न सक्ने व्यबसायिक प्रहरी कर्मचारी बन्न टेवा पुर्याउदछ ।
सेवा प्रवेशको लागि लिइने परीक्षामा सबै एउटै नम्वरमा पास हुन सक्दैनन् । तालीममा पनि सबैको एउटै अंक कदापि आउन सक्दैन् । तर त्यस पश्चात यदि सबैलाई समान अवसर प्रदान गर्ने हो भने सवैमा सोहि प्रकारको परिपक्वता ल्याउन सकिन्छ । बिगतमा संगठनले राम्रो प्रहरी कर्मचारीको नाममा काठमाण्डौ उपत्यका बाहिर जानु नपर्ने र कोहीलाई अवसरबाट बञ्चित गरि कहिले पनि उपत्यका आउन नदिने । उदाहरणको लागि बिगतमा केहि प्रहरी कर्मचारीहरुले काठमाण्डौ उपत्यका त्यसमा पनि ट्राफिक प्रहरीका ईकाईहरुमा बाहेक उपत्यका बाहिरका अन्य स्थानमा रहेका प्रहरी इकाईहरुमा सरुवा जानु जानु परेन, तर उनी संगैका कतिपय प्रहरी कर्मचारीहरुले काठमाण्डौ उपत्यका नदेखि निवृतीभरण प्राप्त गरेको पाइन्छ छ । यस किसिमको बिभेदले संगठनमा बिग्रह जन्माउंछ । प्रहरी कर्मचारीको मनोवल घट्छ ।
तसर्थ संगठनले सरुवा तथा बढुवा गर्दा हाम्रो र राम्रो भन्दा पनि सवैलाई समान अवसर प्रदान गरेर राम्रो बन्ने हौशला दिन सक्नु पर्दछ।नेपाल प्रहरीलाई जनस्तरबाट लाग्ने आरोप भनेकै आफ्ना कर्मचारीको सरुवा तथा बढुवामा जहिले पनि नाताबाद र कृपाबाद हावि हुन्छ । आफ्नोलाई मात्र अवसर प्रदान गरिन्छ, आफ्नो बाहेकलाई अवसरबाट बञ्चित गरिन्छ भन्ने छ।यसलाई चिर्नको लागि संगठनलाई एउटा परिवारको रुपमा लिइनु पर्दछ। आफ्ना प्रहरी कर्मचारीहरुको दुखमा रुन सक्ने र शुखमा हांस्न सक्ने संगठनको परिकल्पना गर्नु पर्दछ । नेपाल प्रहरीको सरुवा तथा बढुवा प्रणाली व्यबस्थित बनाउन संगठनले केहि पहलकदमीहरु तत्काल अवलम्बन गर्नु पर्दछ ।
१. कानूनी तथा नीतिगत सुधार
प्रहरी ऐन र नियमावली संशोधन गरी सरुवा र बढुवाको स्पष्ट मापदण्ड तय गर्नुपर्छ । हिमाल र पहाडमा कार्यरत रहेको स्पष्ट अंक निर्धारण गरि निश्चित दर्जाहरु किटान गरि प्रत्येक दर्जामा बढुवाको लागि पहाड र हिमाली क्षेत्रहरुमा रहेका प्रहरी इकाईहरुमा अनिवार्य सेवा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिनु पर्दछ । जसले गर्दा सबै प्रहरी कर्मचारीहरुलाई ती स्थानहरुमा कार्यरत रहन बाध्य बनाउंछ ।
अहिलेको परिप्रेक्ष्यमा राजनीतिक परिवार संग नजोडिएको कुनै पनि प्रहरी कर्मचारी हुंदैन् । कुनै न कुनै राजनीतिकर्मीको नाता पर्ने नै हुन्छ । त्यसकारन संगठनले यसमा चनाखो रहि प्रहरीको सरुवा तथा बढुवा राजनैतिक दवाव वा प्रभावको आधारमा हुन नदिने बनाउन प्रयास गर्नु पर्दछ । सरुवा/बढुवा सम्बन्धी निर्णयमा न्यायिक पुनरावलोकन (appeal mechanism) सुनिश्चित गर्नुपर्छ।यसको लागि प्रहरी प्रधान कार्यालयमा बिशिष्ट श्रेणीको प्रहरी अधिकृतको नेतृत्वमा समिति रहने गरि ऐनमा नै संसोधन गरिनु पर्दछ।जसले सरुवा तथा बढुवामा निश्पक्षता कायम गर्न मद्धत पुर्याउंछ ।
२. मेरिटमा आधारित मूल्यांकन प्रणाली
बढुवाका लागि Performance Evaluation System (KPIs) लागू गरिनु पर्छ।अपराध नियन्त्रणमा तथा अनुसन्धानमा पुर्याएको योगदान, प्रहरी कार्वाहीमा जवाफदेहिता, घटित अपराधको अनुसन्धान सफलता दर, जनसेवा र सामुदायिक कार्यक्रममा सहभागितामुलक प्रभावकारिता मूल्याङ्कन, इमान्दारी, र नेतृत्व क्षमता मुल्यांकन गरिनु पर्दछ । विभागीय प्रतिवेदनहरू (Annual Confidential Reports) वस्तुगत र मापन योग्य सूचकका आधारमा लेखिनु पर्छ ।
३. सरुवामा पारदर्शिता र स्थायित्व
डिजिटल सरुवा व्यवस्थापन प्रणाली (e-Transfer Portal) विकास गरी खुला रूपमा सबै सरुवा सूची सार्वजनिक गर्नुपर्छ । कुन कुन स्थानमा कार्यालय प्रमुखको रुपमा र कुन कुन स्थानमा सेकेण्ड म्यान र अन्य स्तरमा कार्यरत रहेको भन्ने व्यहोरा सरुवा सुची निकाल्ने बेलामा नै प्रकाशन गर्ने ब्यवस्था मिलाइनु पर्दछ ।
एकै ठाउँमा न्यूनतम र अधिकतम कार्यकाल (tenure policy) तोकि स्पष्ट कार्यान्वयन गरिनु पर्दछ । बढुवाको लागि समिति निर्धारण गरे जस्तै सरुवाको लागि पनि सरुवा सिफारिस समितिको गठन गरिनु पर्दछ ।
४. बढुवामा समान अवसर
बढुवामा जातीय, लैङ्गिक र भौगोलिक तथा पिछडिएको वर्ग समुदायको विविधता सुनिश्चित गर्न अंक प्रणालीको सुधार गर्नुपर्छ।प्रहरी ऐनमा नै यस किसिमको सुधार लिपिबद्ध भएको हुनुपर्दछ।तहगत बढुवाको लागि अनिवार्य तालीमको मापदण्ड बनाइनु पर्दछ। प्रशिक्षण र क्षमता विकास तालीम कार्यक्रम पूरा गरेका अधिकृतलाई प्राथमिकता दिनुपर्छ।
५. निगरानी र जवाफदेहिताको व्यवस्था
सरुवा र बढुवामा भएका अनियमिततामा बिशिष्ट श्रेणीको प्रहरी कर्मचारीको नेतृत्वमा स्वतन्त्र निरीक्षण निकाय (Police Service Commission) मार्फत अनुगमन र सुपरिबेक्षण गर्ने प्रणालीको विकाश गर्नुपर्छ । हरेक निर्णयको कारणसहितको अभिलेख (record of
justification) सार्वजनिक गर्नुपर्छ ।
६. प्रविधिमा आधारित अभिलेख प्रणाली
प्रहरी कर्मचारीको सेवा विवरण, कार्यसम्पादन, पुरस्कार, सजाय आदि सबै केन्द्रिय डिजिटल डेटाबेसमा राख्नुपर्छ।यसले निर्णयमा पारदर्शिता र दुरुपयोग नियन्त्रणमा सहयोग पुर्याउँछ ।
निष्कर्ष:
नेपाल प्रहरीको सरुवा र बढुवा प्रणालीलाई “मेरिट + पारदर्शिता + स्थायित्व” को त्रिकोणमा आधारित बनाउन सके प्रहरी सेवामा विश्वसनीयता, मनोबल र कार्यक्षमता दुवै बढ्नेछ । प्रहरीको काम कार्वाहीलाई प्रभाव पार्ने तत्व भनेकै मनोवल हो । मनोवल उच्च राख्दा प्रहरीमा कामको प्रभावकारिता बढ्छ । प्रभावकारिता बढ्नु भनेकै नागरिक प्रतिको उत्तरदायित्वलाई जिम्मेवार पुर्वक बहन गर्नु हो । यसलाई मनन गरि संगठनले आफूलाई परिष्कृत बनाउदै लगेको खण्डमा जनतामा प्रहरी प्रतिको अगाध स्नेहता बढ्न जान्छ ।























