अर्थ

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

नवलपुर टुडे
२०८२ कार्तिक ९ | बिहान ०८:०७ बजे

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ ।

तीन महिनामा एक हजार ७२  मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्यांकानुसार, चालु आवको तीन महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

कार्यालयको तथ्यांकानुसार, निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१.८०, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१.४०, धातुका अरू अवशेष शतप्रतिशत, मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

अदुवा ३२.३० र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

कमेन्टहरु