तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो


भक्तपुर । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइ नभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्ष दिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेतले तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको बताउँदै यहे वर्ष दिनभरिको किसानको कमाइ भएको बताइन् ।
जिल्लाको धानखेती हुने ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुन्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसानको यतिखेर धान काट्ने र भित्र्याउने काममा व्यस्तता बढेको हो ।
सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, ‘असिना पानीको डरले कतिपय किसानले हरियो धान काट्न थालेका छन्, तिहार भनेर कुर्ने समय छैन, आकाशमा बादल मडारिए पनि किसान आत्तिन्छन् त्यसैले तिहार नभनी भक्तपुरका सबै किसान धान काट्न व्यस्त छन् । सबै आफ्नै धान काट्न थालेकाले ज्यामी पाइँदैन, पर्म पनि छैन, ज्यामी नहुँदा धेरै किसानलाई समस्या परेको छ ।’
























