तिहारमा स्वदेशी फूलले पायो बजार


काठमाडौँ, कात्तिक ३ । यस वर्षको तिहारमा नेपालमै उत्पादित फूलले बजार पाएको फूल व्यवसायीले बताएका छन् ।तिहारमा फूलको बढी व्यापार हुने गर्छ । नेपालमा उत्पादन भएको फूलले बजार पाउँदा विदेशबाट कमै फूल आयात भएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ । नेपाली व्यवसायीले उत्पादन गरेको फूल विगत वर्षमा बिचौलियाका कारण किसानले मूल्य नपाउने गरेकामा यस वर्ष भने त्यस्तो नभएको सङ्घका अध्यक्ष रामजी तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।
यस वर्ष बागमती प्रदेश सरकारअन्तर्गत रहेको पुष्प विकास केन्द्रले भक्तपुरको गुण्डु र काठमाडौँको इचङ्गुनारायणका २५/२५ गरी ५० जनालाई तालिम दिएको थियो । तालिम लिने ५० जनालाई दुई/दुई रोपनी रोप्न पुग्ने गरी बिएको बेर्ना बाँडिएको केन्द्रका कार्यालय प्रमुख रबिन्द्र थापाले जानकारी दिनुभयो ।
केही उपभोक्ताले भने बजारमा फूल र मालाको मूल्य विगत वर्षको भन्दा बढी तिर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । सरकारले मूल्य तोकेर बढी लिनेलाई कानुनी कारबाहीको दायरामा ल्याए बढी मूल्य लिने क्रम रोकिने उपभोक्ता सविना श्रेष्ठको माग छ ।























