यमपञ्चकको तेस्रो दिन : मनाइयो कुकुर तिहार


काठमाडौँ, कात्तिक ३ । यमपञ्चकको तेस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । आज दिउँसो तीन बजेपछि औँसी तिथि लाग्ने समितिले जनाएको छ । आजै साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । यसै साँझदेखि यमदीदान पनि सुरु भएको थियो । दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती यसै दिन मनाइएको थियो ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन मङ्गलबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन । पाँचौँ दिन बुधबार गाई पूजा गरिँदै छ । यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ ।
तिथिले पाँचौँ परेपनि दिनअनुसार छैटौँ दिन अर्थात् कात्तिक ६ गते बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । नेवार समुदायले किजापूजा भनेर मनाउने तिहारको मुख्य दिन यस दिन परेको छ । भाइटीका र किजा पूजाको साइत ११ः३९ बजे उत्तम रहेको पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो ।























