राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

रासस
२०८२ अशोज ३१ | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ, असोज ३१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको बैठक आज समापन हुँदैछ ।ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा यही असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित पारित हुनेछ ।

बैठकमा पार्टीको आगामी ११औँ महाधिवेशनको तिथि, मिति तय गर्ने र समसामयिक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । नेता गौतमले बोल्ने अधिकांश सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल मर्ममा समर्थन गरेको र संसद् पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

उहाँले छिटपुट रुपमा केही सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो ।

बैठकमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।

समसामयिक प्रस्ताव तयारीका लागि उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा प्रचार विभाग प्रमुख गौतम र संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ । 

कमेन्टहरु