एक हजार ६ सय रोपनीमा ‘बृहत् बैरेनी जग्गा एकीकरण’

रासस
२०८२ अशोज ३१ | मध्यान्ह ०१:०६ बजे

तनहुँ । व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण आयोजना’ सञ्चालन गरेको छ । दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने योजनाअनुरुप आयोजना सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाले सोही वडास्थित बैरेनीमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको जनाएको छ । उक्त आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको अवस्थामा पुनःअर्को ‘बृहत् बैरेनी जग्गा एकीकरण’ आयोजनाको परिकल्पना गरिएको नगरपालिकाले जनाएको छ ।
वि.सं २०८२ महिनाभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी विकसित घडेरीको पुर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको इञ्जिनियर मुलले बताए । विसं २०७९ मङ्सिर १४ गते सम्झौता गरी २०८५ सालसम्म ऋण सम्झौता रहेकामा तीन वर्षअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने– ‘जमिनमुनिको कठिनाइ कार्य सकियो, अबको छ महिनाभित्र घडेरी छुट्याउने कार्य सम्पन्न गरिनेछ ।’
उनका अनुसार अब नाला निर्माण, कालोपत्र, विद्युत् खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान र दुई वटा विद्युत् ट्रान्समिटर जडान गर्नुपर्ने छ, ट्रान्समिटर जडानका लागि विद्युत प्राधिकरणसँग समन्वय गरिएको छ ।
कूल रु १३ करोडमध्ये कोषले रु नौ करोड १० लाख ५० हजार ४०० र नगरपालिका तथा गण्डकी प्रदेशको रु चार करोड लगानी रहेको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ भने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी गरेको छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
‘दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ’, उनले भने- ‘भावी पुस्ताका लागि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेका छौँ जसले बस्ती विस्तारमा सहज हुने विश्वास गरिएको छ ।’























