प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल


काठमाडौँ, असोज ३१ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।
गृहमन्त्री अर्यालले पछिल्ला समय देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताउनुभयो । “पछिल्ला समय केही जिल्लामा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाले नेपाली समाजको विशेषताको रूपमा रहेको आपसी सद्भाव, सहिष्णुता तथा भाइचारामा खलल पु¥याउने दुष्प्रयास भएको देखिन्छ, यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ । यस्ता गतिविधिलाई रोक्न बेलैमा लाग्न जरुरी छ ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले हालको परिस्थितिमा र आगामी दिनमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति दिलाइ प्रहरीलाई नागरिक भरोसाको केन्द्रका रूपमा अगाडि बढाउन प्रहरी व्यावसायिक रूपमा सक्षम रहेको समेत धारणा राख्नुभयो ।
महानिरीक्षक खापुङले भन्नुभयो,“नेपाल प्रहरीबिनाको समाज कल्पना पनि गर्न सकिँदैन । समाजमा प्रहरीको माग दिनप्रतिदिन बढ्दै गएको छ । विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको छ । यसका लागि आगामी दिनमा थप २५ हजार जनशक्ति आवश्यक छ । यस विषयमा पनि सोच्नुपर्छ र प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न जरुरी छ । प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकता छन् । यसमा हामी लाग्छौँ ।”
प्रहरी दिवसका अवसरमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ९डिआईजी० कृष्णबहादुर राना, मोतीलाल कला उत्कृष्ट अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक ९डिएसपी० धर्मराज भण्डारी, पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक ९डिएसपी० भोलाकुमार भट्टलाई प्रदान गरिएको छ ।
यस्तै, यस वर्ष कर्तव्य पालनका सिलसिलामा वीरगती प्राप्त गर्नुभएका छ प्रहरी कर्मचारीका आश्रित परिवारलाई जनही रु एक लाख ५० हजार नगद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहीद स्मारकमा पुप्पगुच्छा अर्पण गर्नुका साथै प्रहरी दर्पण–२०८२ विमोचन गरिएको थियो ।
प्रहरी ऐन, २०१२ अनुसार स्थापना भएको नेपाल प्रहरीले आजदेखि आफ्नो स्थापनाको सात दशक पूरा गरेको छ । सुरुमा सात हजार ७१५ जनशक्ति रहेको नेपाल प्रहरीमा हाल ७९ हजार ५४१ जनशक्ति रहेको छ ।























