देश

सिन्धुपाल्चोकमा बस्ती जोगाउन सरकारले वास्ता नगरेको बाढी प्रभावितको गुनासो

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०१:०४ बजे

सिन्धुपाल्चोक । असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । गत शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ । बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ ।

त्यस्तै यी दुई पालिकाका विभिन्न वडा जोड्ने पुलसमेत बगाएको छ । पुल बगाउँदा मेलम्ची–७, ८, ९ र १०, हेलम्बु–१, २ र ३, पाँचपोखरी थाङ्पाल तथा इन्द्रावतीका सबै वडासँग जोडिएको सडक सञ्जाल टुटेको छ । नदीको धार परिवर्तनमा सरकारले सहयोग गर्यो भने पुरिएका घरमा बस्न सकिने स्थानीयवासी बताउँछन् । उनीहरुको कुरालाई सरकारले वास्ता नगरेको गुनासो छ ।

असार १ गते र असार १६ गते आएको बाढीले करोडौँको क्षति पुर्याएको तर विस्थापित भएको ४९ दिन बितिसक्दा पनि जोगाउन सक्ने बस्ती पनि जोगाउनमा सरकारले कुनै पहल नगरेको मेलम्चीका होटल व्यवसायी चन्द्रबहादुर तामाङको गुनासो व्यक्त गरे । उनले अहिलेको परिस्थितिमा राहतभन्दा पनि बस्ती संरक्षण गरिदिन तीनै तहका सरकारसँग आग्रह गरे ।

करोडौँ लगानी गरेर बनाएका घर, फार्म तथा खेतीयोग्य जमिन सबै बगरमा परिणत भएपछि बाढी प्रभावितको मन अझै विचलित छ । सम्पत्तिका नाममा बचेको चार आना जग्गा पनि खोलाले कटान गरिरहेको मेलम्चीकै लक्ष्मी श्रेष्ठ बताउँछिन् “टाढाको सरकार त के कुरा स्थानीय सरकारले पनि बाढी प्रभावितको कुरा सुनेनन”।

अहिले पनि बाढीले बगाउन नसकेका कतिपय घर जोगाउन सकिने अवस्थामा रहेको तर सरकारले नदी नियन्त्रणमा कुनै पहल नगरेको प्रभावितको गुनासो रहेको छ । स्थायी वा अस्थायी आवास निर्माणको पहल नथालेको भन्दै प्रभावितहरु आक्रोशित भएका छन् ।

बस्ती जोगाउन स्थानीय सरकारले चाहेको भए एक हप्तामा जोगाउन सक्ने तर बेवास्ता गरेको बाढी प्रभावित एवं मेलम्ची पुनःनिर्माण सरोकार समितिका अगुवा सागर श्रेष्ठले बताए । बाढी प्रभावित आफैँले पैसा संकलन गरेर आफ्नो बस्ती आफैँ बचाउने अभियान चलाइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने उचित नभएको बताए । तारजाली राखेर जोगाउन प्रयास गरे पनि हिमाली क्षेत्रमा व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको काम प्रभावकारी नहुने पोखरेलको भनाइ छ ।

 

कमेन्टहरु